हामी चुप लाग्दैनौँ,
हिंसा सहनुु हिंसै हो,
हाम्री आमालाई न्याय दे,
हाम्री आमा कहाँ छिन् ?
सरकार किन मौन छ ?
यो नारा नारा मात्र थिएन, आमाको खोजीका लागि सन्तानको चित्कार थियो । विगत दश वर्षदेखि काठमाडौं जैसिदेवलकी छोरीमैयाँ महर्जन परिवारको सम्पर्कमा आएकी छैनन् । छोरीमैयाँ हराएलगत्तै उनका तीन छोरीहरू प्रहरी, सडक हुँदै अदालत पुगे । तर आजसम्म छोरीमैयाँको कुनै खबर छैन ।
१६ फागुन ०६८ को बिहान (८ः१५ तिर) छोरीमैयाँ साथी (सुरक्षा सिंह ‘निक्की’)लाई भेट्न बानेश्वर जान्छु भनी घरबाट निस्केकी थिइन् । १० वर्षअघि आमाको खोजखबर र न्यायका लागि सडकमा हारगुहार गर्दा सुधा २२ वर्षकी थिइन् । यो दश वर्षमा देशमै र सुधाको जीवनमै पनि धेरै परिवर्तन भए, तर सुधा र उनका बहिनीहरुको पीडा उस्तै छ ।
‘आमाबिनाको यो समय निकै कठिन छ, कसरी बित्यो म शब्दमा भन्न सक्दिनँ,’ यति भन्दै गर्दा सुुधाको आवाज भासिन्छ । उनी आमाबारे सोच्दासोच्दै र सम्झँदासम्झँदै मानसिक रुपमा विक्षिप्त हुन पुग्छिन् । सुधा भन्छिन्, ‘गुमनाम पारिएकी आमाको खबरका लागि तड्पिनुको पीडा कुनै शब्दमा बयान गर्न सक्दिनँ ।’