देवराज भट्ट
मानव सभ्यताको आरम्भदेखि नै समाजका विभिन्न वर्गले भित्रभित्र स्वरूप र आकृतिका भगवान् मान्दै तथा पूजा गर्दै आएको विषय त हाम्रा प्राचीन सभ्यताले पुष्टि गर्दै आएका छन्।
यसरी मानिँदै र पुजिँदै आएका अधिकांश भगवान्का स्वरूप कोही ठुल्ठूला उच्च पृष्ठभूमिका सन्त एवं साम्राज्यका राजा–महाराजाका वंशज नै देखिएका छन् र सबै आ–आफ्ना ज्ञानगुन र सुकृत्यका आधारमा स्थापित भएका देखिन्छन्। पछिल्लो कालखण्डका भगवान् गौतम बुद्ध पनि यसै कडीका उदाहरण हुन्।
भगवान् भन्नेबित्तिकै आममानिसको मानसपटलमा आउने आकृति भनेको स्वच्छ, सुग्घर र सबै कुराले भरिपूर्ण ज्ञानगुनको भण्डारको आकृति हो। यहाँसम्म कि शिला रूपमा भगवान्को कल्पना गर्दा पनि उपलव्ध शिलामध्ये सबैभन्दा उत्कृष्ट र सुन्दर शिलाको छनोट र स्थापना गरिन्छ।
हामी हिन्दूले सन्त तथा राम, कृष्ण, बुद्धजस्ता राजा–महाराजालाई मात्रै भगवान् मानेका छैनौँ, ‘शैलपुत्री गंगा’ भन्दै प्राकृतिक रूपले स्वच्छ, सुन्दर, प्रकृतिका भण्डार हिमशृंखलालाई शैल अर्थात् पिता र त्यसबाट उत्पन्न स्वच्छ निर्जल निर्मल अविरल धाराहरू (अर्थात् नदी) पुत्री भन्दै प्रकृतिसँग समेत पवित्र नाता कायम गरी प्रकृतिपूजक चरित्रको परिचयसमेत दिएका छौँ।
अतः विभिन्न स्वरूप र प्रकृतिको चरित्रलाई सदगुण, सुन्दरता, सतक्रम उन्मुख, ज्ञानको परिपूर्णता एवं भरिपूर्णताका आधारमा हामीले पूजा गर्दै आएका छौं तापनि भगवान्को वास्तविक आकृति वा अनुहार कस्तो हुन्छ त भन्दा कुनै पनि व्यक्तिसँग स्पष्ट जवाफ नहुन सक्छ।