माघ महिनाको मुटु नै फुट्लाजस्तो सिरेटो। मौसमीले जाडोले लगलग काम्दै राति ओछ्यानबाट हराएको कपडा खोजी। रातको पहिलो प्रहरमा श्रीमानले अँगालोमा कसेर स्वार्थ पूर्तिका लागि बोलेका शब्दहरू बारम्बार उसका कानमा ठोक्किए ।
हिजो राति उसलाई बेस्सरी थकाई लागेको थियो । मन भरुन्जेल निदाउन चाहन्थी । तर उसको श्रीमानले उसलाई निदाउन दिएन। उसले धेरै पटक कोसिस गरी तर, सकिन।
उसलाई रातभरि निद्रा लागेन। अनिदो आँखासँगै उसले सोची, आफ्नो जवानीको आवेग शान्त पार्न यो जड्याहा लोग्नेमान्छेलाई जिउँदो स्त्री नै चाहिने हो कि होइन ..?
उसले सोची, के स्त्री र पुरूषको सम्बन्ध केवल बास्ना परिपूर्तिबाहेक अरू पनि हुन सक्दैन र ?
घडी हेरी रातको २ बजेछ। कोल्टे फेरि निद्रा लागेन। उठेर चिसो पानीले मुख भिजाई। ऊ निरन्तर दस वर्षदेखि यो घरमा छे। उसको श्रीमानले दस वर्ष नै भयो यस्तै माया गर्दै आएको। उसले कुनै दिन सुखको अनुभूति गर्न पाएकी छैन। ऊ चाहन्छे, प्रेम प्रेमसँग मिलोस्। हृदय- हृदयसँग मिसियोस्। प्राण-प्राणसँग मिसियोस् र आनन्दको अनुभूतिले सृष्टिको आदिम स्थितिमा पुगेर यौनले आदर्श शरीरको रूपमा धारण गरोस्।