अदुवा खेतीबाटै मनग्य आम्दानी बढ्दै

बिएल संवाददाता

सुदूरपश्चिम

कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।

कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए। उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ।”

कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आफ्नै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन्। आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उनले भने, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु।” उजले तीन वर्ष मलेसियामा समेत काम गरेका थिए।

सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ। यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउछन्।

गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ। “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भने, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ।”

अदुवाको सुठो(चना) बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ। कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन्।

सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ। काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ।

प्रकाशित मिति: : 2021-07-31 12:25:00

प्रतिकृया दिनुहोस्