पोखरा शान्तिघाटको विद्युतीय शवदाह गृह तीन महिनादेखि बन्द 

पोखरा शान्तिघाटको विद्युतीय शवदाह गृह तीन महिनादेखि ठप्प छ। २ वर्ष अघि पोखरा महानगरले एभरेष्ट बैंकसँगको सहकार्यमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो। 

पोखरा महानगर वडा नं.–९ मा अवस्थित उक्त वातावरणमैत्री शवदाह गृह स्थानीयको अवरोधपछि बन्द भएको हो। प्रदुषणरहित भनिए पनि शवदाह गृहले प्रदुषण निम्त्याएको भन्दै स्थानीयले विरोध गरेका हुन्। ‘शव जलाउदा निस्किने धुँवा सबै टोलतिर आउने थाल्यो। त्यसलाई कम गर्नु पर्यो भन्ने हो,’ शान्तिवन टोल विकास समितिका अध्यक्ष रामबहादुर विकले भने, ‘टोलबासीको स्वास्थ्यलाई ख्याल गर्नु पर्यो भन्ने हो। खासै विरोधै भनेर गरेको पनि होइन।’

उनले पूर्वी भेगबाट हावा चल्दा शवदाह गृहबाट निस्किने धुँवा टोलतिर सोझिने बताए। आफ्नो टोल भन्दा पनि शान्ति वन बाटिका टोल विकास समिति शवदाह गृहको नजिकै भएकाले बढी असर पार्ने उनले बताए। 

शवदाह गृह सञ्चालनको जिम्मा पाएका शान्तिघाट विकास समितिका अध्यक्ष सीपबहादुर कार्की टोलबासिको अवरोधपछि शवदाह गृह बन्द भएको बताए। ‘शवदाह गृहले हामीलाई असर गर्यो भनेर यहाँ डढाउन दिन्नौं, यसो र उसो गरे,’ उनले भने, ‘त्यसो गर्दा पनि हामीले २, ३ वटा लाश त जलायौ। जलाउदा कुट्न आउलान जस्तो गरे। सामाजिक काम गर्दा आक्रमणै हुने अवस्था आएपछि हामी भिड्न सक्दैनौं भनेर महानगरलाई भनेका थियौं। त्यसपछि त्यो त्यसै छ।’

महानगरमा गुहारे पनि अहिलेसम्म सञ्चालनको कुनै पहल नभएको उनले बताए। स्थानीयले शवदाह गृहले प्रदुषण फैलाएको आरोप लगाए पनि शबदाह गृह पूर्ण वातावरणमैत्री भएको उनको दाबी छ। ‘विरोधको लागि विरोध मात्रै हो उनीहरुको। अरु त केही पनि होइन। त्यसलाई केही बिगारेकै छैन,’ उनले भने। 

शवदाह गृहमा शव लिएर पुम्दिभुम्दीदेखि यता महानगरका ३३ वडामध्ये प्राय जसो वडाबाट आउने गरेको उनले बताए। स्याङ्जाका केही भेगबाट समेत शव लिएर उक्त शवदाह गृहमा आउने गरेको उनको भनाई छ। ठूलो भेगलाई समेट्ने घाट साथै आसपासमा बस्ति पनि ठूलो भएकाले पनि वातावरणमैत्री बनाउने अवधारण आवश्यक ठानेर शवदाह निर्माण थालिएको उनले बताए। 

एभरेष्ट बैंकको ६४ लाख सहयोगमा बनेको विद्युतिय शवदाह गृह निर्माण हुनु अघि पनि स्थानीयले अवरोध खडा गरेका थिए। यो पूर्ण विद्युतिय शवदाह गृह भने होइन। दाउराको खपत पनि कम हुने, शव जल्न पनि कम समय लाग्ने साथै वातावरणमैत्री देखिएकाले महानगरले उक्त विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको थियो। ४५ मिनेट देखि १ घण्टा भित्रमा एउटा शव जलेर सकिन्छ। 

यस्तै खालको शवदाहगृह शान्तिघाट पल्लोपट्टि रामघाटमा पनि बनाउने योजना ल्याएपछि स्थानीयले उच्च अदालतमै रिट दर्ता गरेका थिए। पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानले नगरप्रमुखले दुवै पक्षलाई डाँकेर सहजीकरण गर्ने बताए। तर, अहिले पोखरा महानगरका मेयर मानबहादुर जीसी अस्वस्थ्य छन्। उनको अहिले काठमाडौंमा उपचार चलि रहेको छ। हृदयघात भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। 

शान्तिघाट विद्युतीय शवदाह गृहमा विवाद पैदा भएपछि बन्द हुँदा अहिले पूरानै घाट प्रयोग गर्नु परेको छ। 

प्रकाशित मिति: : 2021-07-30 20:44:00

प्रतिकृया दिनुहोस्