तिम्रो मेस्सी को हो ?

शिलापत्र

काठमाडौँ

 नवराज पराजुली

 

यो वि.स. २१३२ को कुरा हो । (वा हुनेछ)

एउटा फुटबल बुढो भयो । उसको जिउको छाला खुम्चिन थाल्यो । ऊभित्रको ब्लाडरले सकी नसकी आफूभित्र हावा जोगाइरहेको थियो । उसलाई ‘अब मेरो मर्ने दिन आयो’ जस्तो लाग्यो । छटपटिन थाल्यो । आफ्नो जवानी सम्झियो । क–कसले आफूलाई लात हानेका थिए, सम्झियो । सम्झेर ल्याउँदा कुनै प्रहार सुन्दर लागेनन् । सोच्यो– 'मलाई जवानीभर कसैले त्यसरी छोएन, जुन सम्झिँदै आज म प्राण त्याग्न सकूँ । यसरी त म मरी पनि हाल्दिनँ । र, बाँचिरहेको पनि छैन ।'

मर्नुअघि एक सुन्दर स्पर्श सम्झिँदै मर्ने हक सबैलाई छ ।

फुटबलको मृत्यु उसको नजिकै आयो र भन्यो, 'म तिमीलाई लिन आएको । तर, किनकिन म तिमीलाई जान तयार नै देख्दिनँ ।'

फुटबलले आफ्ना चाउरिएका गाला आफैँले मुसार्दै मृत्युलाई सारा दु:ख सुनायो ।

मृत्युले खै के सोचेजस्तो गरेर भन्यो, 'म तिमीलाई केही जादुजस्ता वर्षहरूको अवधि दिन्छु । तिमी अघिल्लो शताब्दीको कुनै समयमा जाऊ । जहाँ मन लाग्छ त्यहीँ जाऊ । कुनै एक महान् फुटबलरको समय छान । तिम्रो ब्लाडरमा जति प्राणवायु छ, यही वायु लिएर तिमी खेलमैदानमा हुनू । ऊसँगै दौडिनू । ऊ लड्दा ऊ तिम्रै वायुको ‌औँला समातेर उठोस् । ऊ विपक्षीको गोलपोस्टतिर दौडिएको मौका छोप्नू । ठ्याक्कै त्यतिखेरै उसले दौडाइरहेको फुटबलको देहभित्र तिमीले आफ्नो यो प्राणवायु छिराउनू । उसले जसरी गोल गरे पनि तिमी उसले गोल गर्दाका जादुमय स्पर्श पाउनू । चाँडोभन्दा चाँडो धेरैभन्दा धेरै उसका ती स्पर्शहरू भेला गर्नू । ती स्पर्श स्मृतिमा बोकी ल्याउनू । आउनू फेरि यो वि.स. २१३२ मा । उसका यति धेरै सुन्दर स्पर्शहरू ल्याउनू कि तिमीलाई यहाँ धेरै बेर मरिरहन मन लागोस् ।'

प्रकाशित मिति: : 2021-07-29 19:52:00

प्रतिकृया दिनुहोस्