बुज्रुकहरुका अनुसार अमेरिकामा बन्दुक किन्नु र मकै भटमास किन्नु बराबर हो।
बन्दुकको पसल र कम्मरमा पेस्तोल बोकेर हिँडेका मान्छेहरु पंक्तिकारले पनि देखेको छ। पंक्तिकारको विचारमा यहाँ कम्मरमा बन्दुक बोकेर हिँड्नु 'स्ट्याटस सिम्बल' हो।
आफ्नो सुरक्षाको निमित्त भनेर लिने 'बन्दुक किन्नु' कुरा गरेको जस्तो सजिलो भने छैन। अनेकौं चरणमा प्रहरीको अनुसन्धानपछि मात्र बन्दुक किन्न पाइन्छ, र त्यो बन्दुक कुनै अपराधिक गतिविधिमा प्रयोग गरेको प्रमाणित भए त्यसको लाइसेन्स रद्द पनि हुन्छ।
धेरै मान्छेहरु जम्मा भएको कुनै स्थानमा अचानक कुनै मान्छे प्रकट भएर गोली हानेर भाग्नुलाई 'मास फायरिङ्ग' अर्थात् सामूहिक हत्या भनिन्छ। यस्तै सन् १९९९ देखि यो समाचार तयार पारुन्जेलसम्म यस्ता सामूहिक हत्यामा सात सय ९२ जनाको मृत्यु भइसकेको र करिब दुई हजारभन्दा बढी घाइते भएका छन्।
यो तथ्याङ्कमा एक व्यक्तिले अर्को व्यक्तिलाई गोली हानेको, सुरक्षाकर्मी र अपराधीबीच गोली हानाहान भएको संख्या पर्दैन।यस्ता सामूहिक हत्या गर्ने अपराधीहरु गोली हानेर भागेको केही समयमै पक्राउ परेको, प्रहरीसँगको 'इन्काउन्टर'मा मारिएको र घटनापछि आत्महत्या गरेको देखिन्छ।
यस्ता सामूहिक हत्यामा सबैभन्दा बढी विभिन्न घटना गरेर सन् २०१७ मा एक सय १७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सन् १९९९ मा ४२ जना, सन् २००० मा ७ जना, सन् २००१ मा ५ जना, सन् २००३ मा ७ जना, सन् २००४ मा ५ जना, सन् २००५ मा १७ जना, सन् २००६ मा २१ जना, सन् २००७ मा ५३ जना, सन् २००८ मा १७ जना, सन् २००९ मा ३९ जना, सन् २०१० मा ९ जना, सन् २०११ मा १९ जना, सन् २०१२ मा ७१ जना, सन् २०१३ मा ३५ जना, सन् २०१४ मा १८ जना, सन् २०१५ मा ४६ जना, सन् २०१६ मा ७१ जना, सन् २०१८ मा ८० जना, सन् २०१९ मा ७३ जना, सन् २०२० मा ९ जना र यो समाचार तयार पारुन्जेलसम्म ३१ जनाको मृत्यु भएको छ। खुशीको कुरा सन् २००२ मा अमेरिकाभरी यस्तो सामूहिक हत्याको घटना भएन।
सन् २०१७ अक्टुबर १ तारिखको दिन लस भेगासको 'प्याराडाइज' नामक क्लबभित्र सांगीतिक कार्यक्रममा भएको घटनामा सबैभन्दा धेरै मान्छे मारिएका थिए। यो घटनामा गोली हान्नेसहित ५८ जनाको मृत्यु भएको थियो। यो भन्दा पहिले सन् २०१६ मा फ्लोरिडाको एउटा नाइट क्लबमा भएको गोली काण्डमा ४९ जनाको ज्यान गएको थियो।
यस्ता घटनाहरु किन घट्न जान्छ, त्यो बेग्लै अनुसन्धानको बिषय हो। मनोवैज्ञानिकहरुका अनुसार बदलाको भावनाले, अरुलाई आफू 'हिरो' भएको देखाउन र प्रयोगको लागि पनि यस्ता घटनाहरु बारम्बार दोहाेरिने गर्छन्। तर, तुलनात्मक रुपमा सजिलै बन्दुक किन्न पाउने भएपछि दिमागले काम नगरेको समयमा जसको हातबाट पनि बन्दुक पड्किन सक्ने खतरा भने भइरहन्छ।
स्रोत: रोयटर्स