प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा वडाध्यक्ष पाेखरेलको ब्रमलुट

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँचीको मालारानी गाउँपालिका–४ का वडा अध्यक्ष विष्णुप्रसाद पोखरेलमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीमाथि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा अनियमितता गरेको आरोप लागेको हो।

उक्त वडामा सञ्चालित आर्थिक वर्ष २०७७/७८ को प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा अध्यक्ष पोखरेलले करिब आठ लाख रुपैयाँ बराबरको बजेट अपचलन गरेको आरोप स्थानीयले लगाएका छन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिका कार्यालयबाट विनियोजित बजेटमा आर्थिक वर्षभित्र उनको वडामा एक सय १० जनालाई एक सय दिन रोजगारी दिने र त्यसबापत एकमुष्ट प्रतिव्यक्ति ५१ हजार एक सय ८३ रुपैयाँ दिने व्यवस्था गरिएको थियो तर वडा अध्यक्ष पोखरेलले एक सय १० जनाले पाउनुपर्ने रोजगारी बाँडेर तीन सय ६७ जनालाई दिएको उल्लेख गरे तर वास्तवमा रोजगारी पाउने एक सय ११ जना मात्र रहेको खुलेको छ।

ती व्यक्तिलाई पनि प्रतिव्यक्ति १५ हजार  ५ सय रुपैयाँमात्र दिए जबकि विनियोजित बजेट अनुसार पूरा दिन काम लगाएर प्रतिव्यक्ति ५१ हजार एक सय ८३ रुपैयाँ दिनुपर्ने थियो । यसबापत वडाध्यक्ष पोखरेलले करिब आठ लाख रुपैयाँ दुरुपयोग गरेको स्थानीयको आरोप छ।

गाउँपालिकाको पारित कार्यविधिअनुसार, वडाध्यक्षले एक सय १० जनाको भागलाई बाँडेर उनले दाबी गरेजस्तो दामासाहीले अरु धेरै व्यक्तिलाई बजेट वितरण गर्न मिल्ने अधिकार कानूनले दिएको छैन। वडाध्यक्ष पोखरेलले भने धेरैलाई रोजगारी दिएको देखाएर गरीब जनतालाई आएको रकममा अनियमितता गरेको पाइएको स्थानीयको आरोप छ।

वडाध्यक्ष पोखरेलले बिएल नेपाली सेवासँगको कुराकानीमा एक सय १० जनालाई आएको रोजगार कार्यक्रमबाट तीन सय ६७ जनालाई रोजगारी दिएको दाबी गरे। उनका अनुसार, तीन सय ६७ जनालाई प्रतिव्यक्ति १५ हजार ५ सयका दरले रकम भुक्तानी गरिएको छ।

वडा अध्यक्षले तीन सय ६७ जनालाई रोजगारी दिएर पारिश्रमिक भुक्तानी गरेको बताए पनि कार्यक्रममा तीन सय ११ जना मात्रै सहभागी रहेको स्थानीय विशाल खनालले बताएका छन्। उनका अनुसार, बाँकी ५६ जनाको नाम काम गर्नेहरुको विवरण सूचीमा छैनन्। यस हिसाबले उनले ५६ जनाको नाम किर्ते गरेर करिब आठ लाख रुपैयाँ अपचलन गरेको स्थानीयले आरोप लगाएका छन्।

वडाध्यक्ष पोखरेलले बिएल नेपाली सेवासँगको कुराकानीमा तीन सय ६७ जनालाई १५ हजार पाँच सयका दरले रकम भुक्तानी गरेको बताएका छन्। यस हिसाबले पनि उनको कुरा र रोजगारको सङ्ख्या मेल खाँदैन।

उक्त वडामा परेको योजनाअनुसार एक सय १० जनाको बैङ्क खातामा ५१ हजार पैसा भुक्तानी भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक महेश भुसालले बताएका छन्। बिएल नेपाली सेवासँगको कुराकानीमा संयोजक भुसालले भने, ‘गाउँपालिकाको कार्यविधिअनुसार हामीले एक सय १० जनाको  बैङ्क खातामा रकम भुक्तानी गरेका हौँ, हामी उहाँहरुको खातामा ५१ हजारका दरले रकम बैङकमार्फत भुक्तानी गरेको छौँ।’

गाउँपालिकाले १ सय १० जनालाई गरेको भुक्तानी गरेको रकम कुल ५६ लाख १० हजार हुन्छ तर वडा अध्यक्ष पोखरेलले भने अनुसार तीन सय ६७ जनालाई १५ हजार ५ सयका दरले रकम भुक्तानी गर्दा गाउँपालिकाबाट भुक्तानी भएको रकमभन्दा ७८ हजार ५ सय रुपैयाँ बढी हुन आउँछ। निकासा भएकोभन्दा बढी रकमको भुक्तानी उनले कुन स्रोतबाट गरे भन्ने प्रश्नसमेत उठेको स्थानीय विशाल खनालले बताए।

यस्तै, कार्यक्रम संयोजक भुसालका अनुसार जसले काम गरेको हो उही व्यक्तिले मात्रै आफ्नो खाताको पैसा निकाल्न मिल्छ तर वडा अध्यक्ष पोखरेलले कार्यक्रममा सहभागीलाई झुक्याएर चेकमा हस्ताक्षर गरेर रकम निकालेको खुल्न आएको छ। काम गरेको पैसा खातामा आएकै दिन वडा अध्यक्षसहितको टोली आएर आफ्नो चेकमा हस्ताक्षर गर्न भएर चेक लगेको स्थानीय एक महिलाले बताएकी छिन्।

‘मेरो नाममा बैंक खाता थियो, त्यसैमा पैसा आएको अर्काे दिन उहाँहरु आएर चेकमा हस्ताक्षर गर्न लगाउनुभयो, अरु के–के गर्नु भयो थाहा छैन’, ती महिलाले भनिन्, ‘मेरो खातामा ५१ हजार आएको थियो। उहाँहरुले १५ हजार पाँच सय मात्रै दिनु भएको हो।’

स्थानीय विशाल खनालले वडा अध्यक्षले सबैको चेक आफैँले लगेको र सुरुमा  १० लाख निकाली आफूनिकट व्यक्तिको खातामा पैसा राख्न लगाएको र बाँकी रकम पछि निकालेर काम गर्नेलाई बाँडेको बताएका छन्। अन्य व्यक्तिको बैंक खाताको पैसा यसरी निकालेर हिनामिना गर्नु बैंकिङ कसुर अन्तरर्गतभएको जानकारहरु बताउँछन्।

आफूमाथि भ्रष्टाचारको आरोप लगेपछि वडा अध्यक्ष सम्पर्कबिहीन भएका छन्। सो विषयमा स्थानीयले बुझ्न भनी गाउँपालिका कार्यालय गए पनि वडा अध्यक्ष कार्यालयमा नरहेको, फोन गर्दा पनि फोन नउठाएको स्थानीयको गुनासो छ।

‘हामीले यसबारे बुझन् भन्दै तीन दिनदेखि वडा कार्यालय धाएका छौँ तर वडा कार्यालय सूचनाबिनै बन्द गरिएको छ।’ स्थानीय विकास खनालले भने। 

गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्यले वडा अध्यक्ष पोखरेलले गल्ती गरेको बताएका छन्। बिएल नेपाली सेवासँगको कुराकानीमा आचार्यले भने, ‘स्थानीयको कुरा सुन्दा त गलत भएको जस्तो लागेको छ, छिट्टै अनुसन्धान हुन्छ, अनिमितता गरेको भए कारवाही गर्छु।’

भ्रष्टाचार गरेको आरोपमा स्थानीयले चर्काे विरोध गरेपछि वडा अध्यक्ष पोखरेललाई जिल्ला प्रशासन कार्यालयले सोधपुछका लागि बोलाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले उनलाई मंगलवार कार्यालयमा बोलाएर सोधपुछ गरेको र थप अनुसाधान गरेर अगाडि बढ्ने बताएका छन्।

उनकाअनुसार पोखरेललाई सबै विवरण र काम गर्ने केही मानिसलाई लिएर पुनः कार्यालयमा हाजीर हुन बोलाइएको छ।


वडा अध्यक्षकाे दादागिरी: जग्गाधनीलाई नियन्त्रण गर्दै डाेजर लगाउँदै

प्रकाशित मिति: : 2021-07-29 19:11:00

प्रतिकृया दिनुहोस्

    कानुन लाई मिचेर कानुन बिपरित गई गरेको कार्यको अनुसन्धान गरि अभियुक्त लाई कडा भन्दा कडा कारभाई हुनुपर्छ ।

    • 2 बर्ष अगाडि
    • Nabin khanal