वडा अध्यक्षकाे दादागिरी: जग्गाधनीलाई नियन्त्रण गर्दै डाेजर लगाउँदै

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँचीको मालारानी–४ का वडा अध्यक्ष विष्णु प्रसाद पोख्रेलले सम्झौताविपरित बस्ती नै जोखिममा पर्ने गरी सडक विस्तार गरेको भन्दै चौतर्फी विरोध भएको छ।

गाउँपालिकाको पातलकटेरादेखि मैदान जोड्ने सडकखण्ड विस्तार गर्ने क्रममा स्थानीयका घर र गोठमा ठूलो क्षति पुग्ने गरी सडक विस्तार गरेपछि उनको चौतर्फी आलोचना भएको हो।

उक्त सडक विस्तारको क्रममा अध्यक्ष पोख्रेलले सम्झौताविपरित आफूलाई नियन्त्रमा लिएर आफ्नो घर नै जोखिममा पर्ने गरी सडक विस्तार गरेको स्थानीय जनार्दन खनालले बिएल नेपाली सेवासँग बताएका छन्।

‘सुरुमा घर जोखिममा नपर्ने गरी घर माथिबाट बाटो खन्ने कुरा भएको थियो, पछि त घरको तलपट्टीबाट डोजर चलाए।’ खनालले भने,‘बाटाे खन्ने दिन मैले घर माथिबाट बाटो खनौं के भनेको थिए, अध्यक्षसहित अरु मान्छेले मलाई च्याप्प समातेर डोजर चलाए।’

खनालले आफ्नो घर जोखिममा पर्ने गरी सडक विस्तार हुन लागेको भनेर कम क्षति हुने गरी अन्य विकल्प खोज्न भन्दै गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र वडा कार्यालयमा निवेदन गरे पनि त्यसको सुनुवाई नगरी जवर्जस्ति सडक विस्तार गरेको बताएका छन्।

‘घरको तलपट्टीबाट बाटो लैजादाँ वर्षामा पहिरोले घरलाई बगाउने सम्भावना देखेर मैले गाउँपालिकलाई घर माथिबाट बाटो खन्नु भनेर निवेदन गरेको थिए। तर त्यसको सुनुवाई पनि भएन, सल्लाह नै नगरीे गुण्डागर्दी शैलीमा सडक विस्तार भयो।’ खनालले भने।

खनालले जेठ २८ गते नै बाटो खन्नेबारे विकल्प खोज्न निवेदन गरेका थिए। त्यसको एक सातापछि असार ६ गतेबाट सडक विस्तार गरिएको थियो।

सोही असार ७ गते खनाललाई अध्यक्षसहितको टोलीले नियन्त्रमा लिएर सडक डोजर चलाउँदा झडप भएको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि अध्यक्ष पोख्रेलको चौतर्फी आलोचना भएको छ। उक्त भिडियोमा अमानवीय हिसाबले उनलाई नियन्त्रमा लिएर सडक विस्तार गरेको देखिन्छ।

त्यस्तै, उक्त सडक विस्तारमा आफ्नो घर जोखिममा पर्ने देखिएपछि स्थानीय डिलाराम खनालले पनि गाउँपालिका र प्रहरीमा यसबारे सल्लाह गरेर अगाडि बढ्नुपर्ने भन्दै निवेदन गरेका थिए। तर उनको निवेदनलाई पनि कसैले वास्ता गरेनन्।

विकास बजेट सक्ने नाममा बिनायोजना हतार–हतार सडक विस्तार गरेका कारण अहिले उक्त स्थानहरुमा पहिरो जानुका साथै केही घरहरु समेत जोखिममा परेका छन्।

‘असारे विकास सक्न हतार–हतारमा सडक विस्तार भयो अहिले सबैतिर पहिरो गएर बिजोक छ, विकासभन्दा धेरै विनाश बढी भयो।’, स्थानीयले एक युवाले भने,‘सही हिसाबले काम गर्नेभन्दा पनि बजेट सकाउने काम भयो।’

स्थानीयहरुले अध्यक्ष पोख्रेलले कसैसँग सल्लाह नगरी मनलाग्दी गरेको आरोप लगाएका छन्। यस विषयमा बिएल नेपाली सेवाले बुझ्न खोज्दा वडा अध्यक्ष पोख्रलले विकास गर्दा त विनाश त भैहाल्छ, सबै कुरा राम्रै भएको छ भन्ने प्रतिक्रिया दिए।

‘सकभर हामीले कम क्षति गर्ने किसिमले बाटो खनेका हौं। चार वर्षदेखि यो बाटोलाई पूर्णता दिन सकिएको थिएन। बजेट फ्रिज हुने अवस्था आएकोले विवादै भए पनि काम त गर्नै प¥यो।’ अध्यक्ष पोख्रेलले भने, ‘काममा शतप्रतिशत सहमति कहाँ हुन्छ र ?’

त्यस्तै, स्थानीय बासिन्दले जनप्रतिनिधिहरुले बजेट सक्ने काम मात्रै गरेको आरोप लगाएका छन्। उनीहरुले हरेक वर्षा जथाभावी डोजर चलाउँदै योजना अलपत्र पर्ने काम मात्रै भएको बताएका छन्।

स्थानीय एक यवाले भने, ‘हरेक वर्ष योजनाबिना नै जता मन लाग्यो उतै डोजर आतङ् माच्चाउने काम मात्रै भएको छ, विकासलाई निरन्तरता नदिएर विनाश मात्रै बढी हुन थालेपछि स्थानीय आक्रोशित बनेका हुन्।’

उनी थप्छन, ‘सदरमुकामबाट गाउँलाई जोड्ने बाटो नै बिजोक अवस्थामा छ। मुख्य काम नगरे कार्यकर्ता पोस्ने काम मात्रै भएको छ।’

प्रकाशित मिति: : 2021-07-01 19:11:00

प्रतिकृया दिनुहोस्