'अनुसन्धानको घेरा साँघुरिएको छ। भेटिएका प्रमाणलाई भेरिफाइ र प्राविधिक पक्षबाट हेरिरहेका छौं।'
केही दिनअघि निर्मला पन्त प्रकरणमा प्रहरीको अनुसन्धान के भइरहेको छ? भन्ने प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले दिएको जवाफ यही हो।
तीन वर्षमा नेपाल प्रहरीका आधा दर्जन जति प्रवक्ता फेरिए, हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीदेखि एआइजी विश्वराज पोखरेलसम्म। त्यसो त निर्मला प्रकरणको अनुसन्धान गर्ने जिल्लाको नेतृत्व गर्दै पुगेका तत्कालीन एसपी कुबेरबहादुर कठायतले पनि नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका थिए। त्यतिखेर पनि उनको रेडिमेड जवाफ अरु प्रवक्ताको झैं थियो - प्रमाण खोजिरहेका छौं। फेरिफाइ गरिरहेका छौं।
आखिर प्रहरीले तीन वर्षसम्म के प्रमाण खोजी गरिरहेको छ त जसले निर्मलाको हत्यारासम्म पुग्न सकियोस्। के तीन वर्ष अघिको घटनामा अब थप नयाँ प्रमाण भेटिएला? अथवा पहिले भएका अनुसन्धानमा भेटिएका परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधी पत्ता लगाउनुपर्ला? केही गरी नयाँ प्रमाण फेला नपरे, निर्मलाको हत्यारा कहिल्यै नभेटिने त होइन?
गएको तीन वर्षमा सुदूर पश्चिमको एउटा बलात्कार र हत्याबारे अनुसन्धानमा खटिएका प्रहरीहरु बिच नै घटनाको सामान्य विषयमा मत किन बाझियो? उनीहरुको एउटै निष्कर्षमा नपुग्दासम्म अनुसन्धानकर्ता नै कतै निर्मलाको हत्यारासम्म पुग्न बाधक बनिरहेको होइन? संशय पैदा हुनु स्वभाविक बनेको छ। अनुसन्धानकर्ताको अनुसन्धान शैली फरक भए पनि लक्ष्य एउटै हुने गर्छ। लक्ष्य अर्थात्, हत्यारा पक्राउ, पीडितलाई न्याय।