खोटाङका किसान सिन्कौली खेतीमा आकर्षित

File photo
File photo

केदार मगर 
गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ खोटाङका किसान आकर्षित भएका छन्। 

व्यावसायिक हिसाबले यसको उत्पादन नभइरहेको जिल्लामा पछिल्लो समय व्यापारीले खोजीखोजी खरीद गर्न थालेपछि किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका छन्। 

सिन्कौली अर्थात् तेजपात (दालचिनी)का नामले प्रख्यात मसलाको ठूलो रुख हुने गर्दछ। यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग गरिँदै आएको छ। यसरी उत्पादन हुने सिन्कौलीको विभिन्न भाग राम्रो मूल्यमा बिक्री हुने भएपछि स्थानीय किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। 

अब प्रविधिको परिवर्तन आएसँगै कमजोर आर्थिकस्तर रहेका किसानले नयाँ विकल्प खोज्न थालेको जिल्ला वन महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए। 

जिल्लाका किसानले हाल डिभिजन वन कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघ र विभिन्न कृषि फर्मसँगको सल्लाहामा सिन्कौलीको बिरुवा किनेर वा निःशुल्क प्राप्त गरेर खाली जमीनमा रोप्न सुरु गरेका छन्। 

नजिकको होलसेल बजारमा सिन्कौलीको पात प्रतिकिलो ६० र बोक्रा प्रतिकिलो १ सय ५० का दरले बिक्री हुने गरेको छ। छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायतका बजारमा सिन्कौली संकलन गरिन्छ। 

थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासङ्घका अध्यक्ष राईले बताए। ‘सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ’, उनले भने, ‘हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ। बजार पनि राम्रो छ।’

यसको व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम अझै प्रभावकारी बनाएर ल्याउनुपर्ने भन्दै किसानले सिन्कौली खेतीबाट निकै राम्रो आम्दानी गर्न सक्ने जनाइएको छ। सामुदायिक वन क्षेत्र तथा व्यक्तिका बाँझो जमीनमा सिन्कौली खेती लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने महासंघका अध्यक्ष राईले बताए।

सिन्कौली हाल चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ । बजारमा पाइने अधिकांश मसलाको आइटममा दालचिनीको नाममा यसको व्यापार व्यापक छ। 

सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको छ। अलि बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन्।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधिजन्य तेल समेत उत्पादन हुने गर्दछ। सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ति बढाउन, रोकिएको पिसाब खुलाउनदेखि मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-07-27 19:16:00

प्रतिकृया दिनुहोस्