तालिबानको आक्रमण विफल, २८ आतङ्ककारी मारिए

Photo : nytimes.com
Photo : nytimes.com

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ।

ती लडाकूहरु उक्त शहर कब्जाको लागि आक्रमण गरिरहेका थिए। तर आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले जनाएकाे छ।

सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई विभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन्।

यस कारबाहीको विषयमा तालिबान लडाकूले कुनै टिप्पणी गरेका छैनन्। तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धर्ना दिएका बताइएको छ। केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन्। अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ। 

प्रकाशित मिति: : 2021-07-27 15:12:00

प्रतिकृया दिनुहोस्