गोदावरीमा हाम्रो पारिवारिक जमिन छ, पितापुर्खाकै पालादेखिको। जिजुबुबा लालध्वज विष्टबाट आर्जन भई हालको पुस्तासम्मले त्यो जमिनलाई आफ्नो भनेर चिन्दै, आत्मसात गर्दै आएको हो। त्यहाँ तामाङ जातिका दाजुभाइलाई गरिखान भनेर हाम्रै पुर्खाले राखेका हुन्। उनीहरू सबैले हामीलाई तल्सिङकै रूपमा व्यवहार गर्दै आएका हुन्। साविक किटनी गाविस वडा नं ५, ६, र ७, हाल नगरपालिका-३ मा पर्ने करिब ४ सय रोपनी जग्गाको यथेष्ट प्रमाण हामीसँग थियो। कानुनले दिएको सुविधाअनुसार जग्गालाई व्यवस्थित गर्ने प्रक्रियामा हामी विष्ट खलक (लालध्वजका सन्तान) लागिरहेकै थियौं।
गोदावरीको जग्गाको सवालमा हामीले यी तीनैखाले प्रमाणहरू पूरा गरेका छौं। लगत श्रेस्तामा लालध्वजका सन्तानमध्ये एउटा मेरै नाम छ, लालध्वजकी नातिनी बुहारी हेमकुमारी र चन्द्रकुमारीको पनि नाम उल्लेख छ। जग्गा कुन प्रकृतिको हो भन्ने निर्धारण गर्ने मूलआधार २०२१ सालको नापी हो। त्यो जग्गा नापी गर्दाखेरी हामी जग्गाधनी कोही पनि उपस्थित थिएनौं। त्यहाँ नापीका कर्मचारी र मोहीमात्रै थिए। मोहीहरूले नै यो जग्गा लालध्वज विष्टको हो भनेर हरेक कित्तामा जग्गाधनीको नाम र मोहीको नाम राखेर दर्ता गरेका रहेछन्। यो अर्को सफा प्रमाण हो। यसबाट उनीहरूले नै स्विकारीसकेको अवस्था हो कि यो ‘ख’ श्रेणीको निजी जग्गा हो भनेर। अर्को ७ नम्बरको फाराम भर्ने कामचाहिँ हाम्रा काकाहरूले गर्नुभएको थियो। उहाँहरूले त्यो फाराम भरेर भूमिसुधार अड्डाबाट त्यसको जानकारी मालपोतलाई दिइसक्नुभएको थियो।
मैले थाहा पाएअनुसार नेपालमा निजी जग्गाका लागि तीनथरी कागज प्रमाण हुनुपर्छ। पहिलो लगत श्रेस्तामा दर्ता हुनुपर्छ। अर्को चाहिँ २०२१ सालको नापीमा मोही र जग्गाधनीको नाम दर्ता भएर फिल्डबुक हुनुपर्छ। तेस्रो, ७ नम्बर फाराम भरेर पेस गर्नुपर्ने छ।