गौतम बाजे प्रतीक्षालयको बैठक कोठामा छोरो रमेशलाई पर्खी बसेका छन्। रमेश माण्डले विश्वविद्यालयका प्रोफेसर हुन्। उनी ठाउँ–ठाउँका बैठकमा व्यस्त थिए।
केहीदिन अघि रमेशले फाेन गरेका थिए। 'बाबा! घर र खेतको कागज-पत्र लिएर झट्टै माण्डले आउनुस्। अरू कुरा भेटेपछि गरौँला।' बाजेसँग सम्पत्तिको नाममा त्यहीँ एक टुक्रा खेत थियो।
घर पहिलै लिलाम भइसक्यो। एक्लो किसानले छोराछोरी पढाउन सम्पूर्ण जीवन आहूती दिनुपर्ने कुरा बाजेले खूब अनुभव गरे। भन्छन्– किसान भगवान् हुन्, अन्नदाता हुन्। तर त्यहीँ किसानको घर सधैँ अँध्यारो किन? उसकै छोराछोरीको पेट भोको किन? किसानलाई गरिबको संज्ञा किन?
किसानले सन्तानको उच्च शिक्षाको कल्पना गर्न सक्दैन किन? तर गौतम बाजेले खेतका गराहरूमा धान मात्र हैन छोरोको भविष्य पनि रोपे। दश नङ्ग्रा खिइयाए, आधा पेट खाएर पनि छोरोलाई विद्वान् बनाउने अठोट गरे। एक जोडा कपडामा जीवन बिताए। छोरोको भविष्य निर्माणमा उनी पूरै रित्तिसकेका छन्। ग्रीष्म वर्षा झरी बादल राप ताप,शिशिर कहिल्यै भनेनन् बाजेले।
यता बैठक समाप्त हुन्छ। प्रोफ़ेसर रमेश र डा. दिपकलाई देखेर कर्मचारीले भने, 'रमेश सर! हजुरलाई भेट्न कोही आउनुभएको छ।'
गौतम बाजे रमेशलाई देखेर मनमनै कुरा खेलाउँछन्। 'म भने अनपढ किसान। अङ्ग्रेजी भाषाको ए पनि नचिन्ने तर मेरो छोरो प्रोफेसर बन्यो र म प्रोफेसरको बुबा। हो... अब म प्रोफेसर डा.रमेशका बुबा भनेर चिनिने छु।'
रमेशले मेरो परिचय यसै गरी दिनेछ संसारलाई। यता रमेशले पनि टाढाबाटै बाबुको छवि देख्छ। फुलेका कपाल, चाउरीएका गाला, फुस्रा दाह्री, जीउका पूराना कपडा, हिलोमा घोटिएर खिइसकेका काला नङ्हरू।
नजिकै पुगेपछि डा. दिपकले अङ्ग्रेजीमा सोध्छन्, 'रमेश सर! हु इज ही? रमेश एकछिन अवाक हुन्छन् र बलिदानका प्रतिमूर्तिको परिचय अङ्ग्रेजीमै दिन्छन्, 'हि इज आवर ओल्ड सर्भेन्ट।'