नेपाल समूहलाई सरकारमा जान यस्ता छन् अड्चन

बाह्रखरी

काठमाडौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरूले सरकारमा जानेबारे छलफल थालेका छन् । मंगलबार (आज) मात्रै बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा नेता नेपालले सरकारमा जाने–नजानेबारे सांसदहरूसँग सुझाव मागेका हुन् । सुझावपछि नेता नेपालले आफूले कानुनी परामर्श गर्ने बताएको सांसद् मेटमणि चौधरीले जानकारी दिए ।

देउवालाई विश्वासको मत दिएपनि सरकारमा सामेल हुने विषयमा भने नेपाल समूहका सांसदलाई कानुनी अड्चन हुने कानुनका जानकारहरू बताउँछन् ।

नेकपा एमालेले देउवाको सरकारको विपक्षमा उभिने निर्णय गरिसकेको छ । उनीहरू सांसदको हैसियतले सरकारमा जाँदा पार्टीको कारबाही बेहोर्नुपर्ने हुन्छ । तर, सांसद चौधरी भने आफूहरूलाई पार्टीले कारबाही गर्न नसक्ने तर्क गर्छन् ।

“स्वतन्त्र सांसदलाई ह्विप लाग्दैन । स्वतन्त्र सांसदको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । त्यही सरकारमा जाँदा हामीलाई चाहिँ कारबाही हुन्छ र ?,” उनी भन्छन्,“पार्टी होइन, केपी ओलीले गुट चलाउनुभएको हो । उहाँको कमिटीलाई अदालतले अस्वीकार गरिसक्यो । हामी माधव समूहमा छौँ । उहाँले ओली गुट चलाइरहनु भएको छ । कारबाही हुँदैन ।”

सत्ता गठबन्धनमा रहेका नेताहरूले नेपाल समूहलाई सरकारमा आउनका लागि आग्रह गरे उक्त समूहले यसबारे निर्णय भने गरिसकेको छैन । सोही समूहकी सांसद रामकुमारी झाँक्री भने मंगलबारको बैठकमा सरकारमा जानेबारे छलफल नभएको बताउँछिन् । एमाले प्रतिपक्षी भएकाले सरकारमा नजाने उनको भनाइ छ । आइताबार भएको मतदानमा देउवालाई मतदान गरेकी अर्की एक सांसद पनि आफूहरू एमालेमा नै रहेकाले सरकारमा जान नमिल्ने बताउँछिन् । अर्को दल भएमात्रै सरकारमा जान सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: : 2021-07-21 06:10:00

प्रतिकृया दिनुहोस्