सरकारी निकायले एकअर्काको मुख ताक्दा लाइसेन्स परीक्षा अन्योलमा

नेपाल खबर

काठमाडौं

सरकारका निकायबीच समन्वय नहुँदा सवारीसाधन अनुमतिपत्रको परीक्षा सञ्चालन अन्योलमा परेको छ। 

यातायात व्यवस्था विभाग, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र प्रदेश सरकारबीच समन्वय नहुँदा परीक्षा सञ्चालन नै हुन नसकेको हो। 

यसले आवेदन दिएका ४ लाख सेवाग्राही परीक्षा दिनबाट वञ्चित भएका छन्। 

एक निकायले अर्कोको मुख ताक्दा परीक्षा सञ्चालन अन्योलमा परेको हो। 

संघीयता कार्यान्वयसँगै परीक्षा सञ्चालन गर्ने प्रदेश सरकारको जिम्मेवारी भए पनि आवेदन भने संघमातहतकै यातायात व्यवस्था विभागले लिँदै आएको छ। 

संघले अनलाइनमार्फत लिएको आवेदनका आधारमा प्रदेश यातायात कार्यालयले लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्दै आएका छन्।  

यातायात व्यवस्था विभागले नयाँ लाइसेन्स लिनको लागि आवेदन नै बन्द गरेको छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णयपछि मात्रै परीक्षा सञ्चालन हुने बताए।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सीसीएमसीमा सवारीसाधन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न अनुमति माग गरे पनि निर्णय नभएको बताए।

प्रकाशित मिति: : 2021-07-20 20:29:00

प्रतिकृया दिनुहोस्