पहिलादेखि नै मनमा धर्म/अधर्म, पाप/पुण्य जस्ता विषयमा कौतुहलता जागिरहन्थ्यो। विश्वमा हिन्दु/बौद्ध/जैन/मुस्लिम/ईशाई/बोन आदि विभिन्न प्रकारका धर्मको अस्तित्व किन होला? सम्प्रदाय/जात/वर्ण/क्षेत्रको आधारमा धर्मलाई किन विभाजन गरिएको होला? के धर्म सार्वजनिक/सर्वव्यापी हुँदैन ?
अमूक व्यक्ति/संस्थाको नामको आधारमा अथवा गुण, स्वभाव, प्रकृतिको आधारमा धर्म/अधर्म छुट्टिने हो ? कर्मकाण्ड पूरा गर्दैमा धर्म प्राप्त हुन्छ वा आफ्नो जीवन व्यवहारमा, आचरणमा धर्म लागू गर्नुपर्छ ? ठूला–ठूला ग्रन्थ पढेर गुरु महाराजका प्रवचन, वाणी सुनेर, धार्मिक भइन्छ वा जीवनमा धर्म स्वयं धारण गरेपछि धर्म हुन्छ ?
धर्मको उद्देश्य मानव स्वयंकाे कल्याण होइन ? धर्म कुनै अमूक भगवान/ईश्वर अल्लाह/प्रभु आदिको सेवा गरेबापत मानवमा दान स्वरुप प्राप्त हुुने हो वा आफ्नै कर्म द्वारा धर्म धारण गरिने हो ?
व्यक्तिमा उत्पन्न हुने क्रोध/द्वेष/दुर्भावना/राग/मोहले व्यक्ति बेचैनी/दुःखी हुन्छ। यी राग/द्वेष अमूक देशअनुसार/दार्शनिक/साम्प्रदायिक धार्मिक मान्यताअनुसार फरक–फरक हुने हो ? फरक हुने होइन भने धर्म किन सार्वजनिक/सर्वव्यापी हुन सकेन ? यस्ता चिन्तनले सोचमग्न बनाइरहन्थ्यो।
यस्तै, चिन्तन बीच करिब १६ वर्ष पहिला विपश्यना साधना शिविरमा भाग लिने अवसर प्राप्त भएको थियो। त्यो साधना शिविरबाट हाम्रो शरीरभित्र क्षण प्रतिक्षण जो जस्तो सत्य प्रकट भइरहेको छ। उसउपर कुनै दार्शनिक मान्यता साम्प्रदायिक अन्धविश्वासको मान्यता नराखी साक्षी तटस्थ भावले हेर्नु नै विपश्यना हो भन्नेसम्म बुझेको थिए, तर प्रयोगद्वारा व्यावहारिक रुपमा अनुभव गर्न सकेको थिइन। दिमागी तहमा त व्यक्तिले यो गर्न हुन्न, त्यो गर्न हुन्न।
असल, ज्ञानी बन्नुपर्छ भन्ने सबैलाई थाहा छ,तर कसरीे ?
उक्त विधीबारे कहीँ कतै चर्चा भएको पाइँदैन। विपश्यना साधना विधि नै यथार्थ धर्मको बाटोमा समाहित हुने पवित्र विधि हो भन्ने ठानी सहभागिताको लागि विपश्यना साधना केन्द्रको वेवसाईट निरन्तर चियाई रहन्थे, तर मेरो र उसको समय तालिकाआपसमा मेल खाँदैनथ्यो।
निरन्तरको प्रयासपछि असार २१ देखि साउन १ गतेको अवधिमा शिविरको मौका मिल्यो। खुशी लाग्यो, तर मेरो समय पावन्दी कठिन थियो। आर्थिक वर्षको अन्तिम महिना।
कार्यालयको राजस्व संकलन कार्य ऋणात्मक वृद्धिको अवस्था।
राजस्व संकलनको लक्ष्य पुरा नहुँदा कार्यालय प्रमुखलाई कति तनाव हुन्छ दिइन्छ। आफूले पनि भोग्दै आएको हुँदा महशुस गरेको छु।
यस्तो अवस्थामा बिना आधार/कारण विपश्यना ध्यान गर्न मात्रको लागि बिदाको अनुरोध गर्न मलाई नैतिक रुपमा अप्ठेरो परिरहेको थियो तर पनि यस पटकको अवसर म कुनै हालतमा गुमाउन पनि चाहँदैनथे।
बिदा के भनेर माग्ने ? कसरी माग्ने ? विपश्यना जानु छ भन्ने ? तर सत्य त त्यही थियो। तनाव सृजना भयो। घरमा जरुरी परेको बहाना बनाई बिदा माग्ने निश्चय गरे तर सम्झे साधना शिविरमा सहभागी हुन अनिवार्य रुपमा ‘पञ्चशील’ पालना गरेको हुनुपर्छ। जसमा झुटो नबोल्नु एक शील हो। संकटमा परे।
असल कार्यको लागि सानो झूट बोल्दा केही फरक पर्दैन। सोच्दै सरको चेम्बरमा गए, तर पनि भन्न सकिन कारण थियो कम बोल्ने, कामलाई प्राथमिकता दिने, व्यक्तिगत रिस राग नभएको भलाद्मी स्वभावको हाकिम भएको हुँदा स्व-अनुशासनको विशेष महत्व रहन्थ्यो। असहज महसुस गर्दै बिदा मागे र टिकट नै काटिसकेको बताए।
टिकट नै काटिसकेपछि के भन्नु र? हुन्छ, तर छिटो आउनु भन्नुभयो। हस भनेँ। सरलाई मनभित्रैबाट निकै धन्यवाद दिएँ तर झूट बोलीले निकै ग्लानी महशुस भइरहेको थियो। त्यसलाई सत्य बनाउन घर गएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे।
झूटमाथि झूट मेरो रहर नभई बाध्यता थियो जुन अभिलाषा पूरा गर्न म वर्षाैंदेखि प्रतिक्षारत थिए। साधना केन्द्रमा पुगियो। साधकको रूपमा दैनिकी सुरु हुन थाल्यो।
विपश्यना भनेको के हो ? यसको उद्देश्य के हो ? साधना विधि के हो भन्ने सैद्धान्तिक विषयमा त पूर्व परिचित नै थिएँ तर यसको प्रयोगात्मक विधिद्वारा आफ्नो शरीर र चित्तवृत्तको पूरापूर साक्षी भावले निरीक्षण गर्न आतुर थिए। हामीले अहिलेसम्म धर्म, दर्शनजस्ता विषय मानी मात्र आएका छौँ तर जानेका छैनौँ जस्तो लाग्छ।
जबसम्म कुनै पनि कुरा स्वयम् अनुभवद्वारा जानिँदैन तबसम्म त्यो सत्य नहुन पनि सक्छ। यसै मान्यताको आधारमा आर्यमौन (शरीर, वाणीसमेतको मौनता) धारण गरी साधनाको प्रारम्भिक चरणमा प्रवेश गरियो। बिहान ४ बजे उठ्ने र बेलुकी २१:३० बजे सुत्ने दैनिकी निरन्तर चल्न सुरु भयो। प्रारम्भका तीन दिन आनापानाको अवधि (स्वभाविक रूपमा आफ्नो श्वास प्रश्वासको सुक्ष्म अवलोकन गर्ने कार्य), चौथो दिनदेखि विपश्यना साधना अवधि (शरीरमा हुने हरेक घटनाको शुक्ष्म रूपमा निरीक्षण गर्ने र घटनाको प्रभाव जस्तो सुकै भए पनि समता भावले हेर्ने कार्य), दशौँ दिनमा एक आपसमा परिचय, सिकाई, अनुभव आदानप्रदान गर्न मैत्री मिलन कार्यक्रमपश्चात आर्यमौन भङ्ग भई एघारौँ दिनमा साधना शिविरको समापन हुने हुन्छ।
यस अवधिमा भौतिकवादी दुनियांँमा शरीर तथा चित्तवृत्तमा जम्मा भएको विकार/क्रोध/द्वेष/दुर्भावना/राग/मोहले भरिँदा दुःखी भएका हामी कठोर अनुशासनको घेराभित्र रही साधना गर्नुपर्दा शारीरिक तथा मानसिक पीडा, वेदना, दर्द हुनु स्वभाविक नै हो, तर आफ्नो शरीर, मन, भावना, यसको प्रकृतिसँगको सम्बन्ध, सो सम्बन्धले मानवीय स्वभावमा ल्याउने बदलावजस्ता विषय कुनै साधु सन्त, महाराजद्वारा गरिने प्रवचन, वाणी वा अमुक दर्शनको पुस्तक अध्ययन बाट मात्र प्राप्त नभई अनुभव, स्व–निरीक्षणबाट थोरै मात्र प्राप्त हुंदा पनि वास्तविक आनन्द आउने रहेछ।
स्वभाविक रूपमा आफ्नो श्वासप्रस्वासको सुक्ष्म अवलोकन गर्ने, आफ्नो शरीरमा हुने हरेक घटना (समवेदना) को सुक्ष्म रूपमा निरीक्षण गर्ने र घटनाको प्रभावजस्तो सुकै भए पनि तटस्थ रुपमा हेर्ने कार्य नियमित रुपमा चल्न थाल्यो। आफ्नो शरीरको प्रत्यक्ष अवलोकन गर्दा शरीर र मन तथा यसको प्रकृतिसँगको सम्बन्ध, सो सम्बन्धले मानवीय स्वभावमा ल्याउने परिवर्तनबारे जानकारसमेत भइँदोरहेछ।
साधना केन्द्रको व्यवस्थापकीय वातावरणले झन रोमान्चित बनाउँदछ। पूर्ण समानता (वर्ग, जात, क्षेत्र , लिङ्ग, सम्प्रदायिक धर्म लगायतका विषयमा कुनै विभेद छैन), पूर्ण रुपमा दानमा आधारित (साधनाबाट दीक्षित व्यक्तिबाट मात्र दान स्वीकार्य ), पूर्ण रुपमा स्व–अनुशासन पालना (गुरु, सहयोगी, साधक/साधिका लगायत सबैले), आफ्नो हरेक काम आफैँ गर्ने परम्परा, समयको समुचित व्यवस्थापनजस्ता अनेक मन छुने कार्यले शारीरिक दुःखाइको कुनै परवाह नहुने रहेछ।
प्रत्येक दिन बेलुकी आदरणीय गुरुबाट साधना विधिको सम्बन्धमा थप स्पष्ट गर्न टेलिभिजनबाट हुने प्रवचन श्रवणबाट जो कर्तव्य हो उही धर्म हो। कुनै पनि वस्तुको स्वभाव/गुण/प्रकृति नै धर्म हो। आगोको धर्म जलाउनु हो। बरफको धर्म शितलता दिनु हो। सूर्यको धर्म प्रकाश/ताप प्रदान गर्नु हो। क्रोध, द्वेष भावनाको धर्म व्याकुल गर्ने वा गराउने हो। मैत्री/करूणा/स्नेहको धर्म सुखी/शान्ति गराउने हो। मनको दुर्गुण तथा सद्गुणको यही नैसर्गिक स्वभाव नै धर्म हो।
दुर्गुण धारण गरी दुःखी हुने वा सद्गुण धारण गरी सुखी हुने यही वास्तविक धर्म कसरी जाति विशेष, वर्ग विशेष, स्थान विशेष, सम्प्रदाय विशेष हुन सक्छ। यस कारण धर्म सार्वजनिक हो। यसको धारण प्रक्रिया पनि सार्वजनिक नै हुन्छ। जब मनमा विकार (राग/द्वेष ) उत्पन्न हुन्छ तब व्यक्ति बेचैनी हुन्छ। दुःखीत हुन्छ।
जसले जस्तो कर्म गर्छ उस्तै फल भोग्छ। त्यसैले आफ्नो कर्मको फलबाट प्राप्त दुष्परिणाम (दुःख) को निवारण आफैँ गर्नुपर्छ। यसको लागि आफैँभित्र हेर्नुपर्छ। शरीको स्व–निरीक्षण गर्दै समताभावको स्व–अनुभवजन्य प्रज्ञा द्वारा शरिर तथा चित्रवृत्तमा रहेका सम्पूर्ण पुराना मनोविकार (राग/द्वेष/लोभ/मोह) नष्ट भइ नयाँ विकारको उत्पादन हुन बन्द हुन्छ, जसबाट मानवमा मैत्री/शितलता/आनन्द प्राप्त हुन्छ भन्ने अनुभवजन्य ज्ञानबारे थोरै भए पनि स्पष्ठता हुने अवसर प्राप्त हुँदा मन झन प्रफुल्लित हुँदो रहेछ। जुन धेरै वर्ष देखिको प्रतिक्षारत अभिलाषा थियो यस पटक प्राप्त भयो। सत्यताको अनुभव प्राप्तिमा मलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु प्रति ऋणी छु। भवतु सब्ब मंगलम।
(न्यौपाने अन्तरगत उपसचिव पदमा कार्यरत हुन्)