शहरको एउटा भाग, वाशिङ्टन स्क्वायरको पश्चिममा बाटाहरू छरिएका छन्। ती बाटाहरू विभिन्न दिशातिर दौडेका छन्। शहरको यही भागमा ग्रीनविच भन्ने गाउँ छ। अनि यहाँ चित्रकारहरू आएर बस्न थाले। तिनीहरूले चाहेका घरहरू यहाँ थिए। ती घरहरू प्रशस्त उज्याला थिए। बहाल सस्तो थियो।
सुरी र जुनी एउटा भवनको माथिल्लो तलामा बस्थे। एउटी चाहिँ मेन शहरबाट आएकी थिई, अर्की चाहिँ क्यालिफोर्नियाबाट। तिनीहरूको पहिलो भेट एउटा रेस्टुराँमा भएको थियो। त्यहाँ तिनीहरूको आपसमा परिचय भयो। दुवैका सबै कुरा मिल्थे। दुवै एकै किसिमका खाना खान्थे। दुवै एकै किसिमका लुगा लाउँथे। यसैले ती दुई नारी चित्रकारहरूले सँगै बसेर काम गर्ने निश्चय गरे।
उनीहरूको यो भेटघाट अप्रिल महीनामा भएको थियो।
ठन्डा महीनामा त्यस ग्रीनविच गाउँमा एउटा चिसो आगन्तुक आयो। यताउता घुम्दै त्यो आफ्ना चिसा हातले मानिसहरूलाई छुँदै हिँड्न थाल्यो। त्यो आगुन्तक एउटा नराम्रो रोग थियो। डाक्टरहरूले त्यसलाई निमोनिया भन्थे। शहरका पूर्वतिर त्यसले धेरै मानिसलाई समात्यो। ग्रीनविच गाउँमा पनि यो आयो।
क्यालिफोर्नियाबाट आएकी दुब्ली जुनीलाई पनि निमोनियाले समात्यो। ऊ ओछ्यानमा हल-न-चल भई लडी। ऊ झ्यालबाट बाहिर एक टक लाएर हेर्न थाली।