हामी नेपालीलाई खुसी हुन कुनै आइतबार बार्नु पर्दैन। स–साना कुराले हामीलाई खुसी दिन्छन्। जस्तो कि सोमबारको गोरखापत्रको समाचार। तपाईंले पनि सम्झिनु भएको होला, त्यहाँ लेखिएको थियो– ‘एकताका लागि १० बुँदे सहमति।’ अर्थात् मैले अविभाजित नेकपा (एमाले) को नेतृत्वबाट बिदा लिन पाउने भएँ। अर्को मेरो कुन कुराप्रति अडिग विश्वास भयो भने, हाम्रा पूर्वप्रधानमन्त्रीहरू नहुँदा पनि पार्टी गतिशील भइरहने भएछ। शायद त्योभन्दा प्रभावकारी ढङ्गले चलाउने छन् उनीहरूले।
मैले सोमबारको एउटा अनलाइन माध्यममा लेखेको थिएँ – जे भए पनि केपी ओलीले सबै पूर्वप्रधानमन्त्रीलाई टप्नु भयो। अहिले पनि मेरो निर्णय सही नै छ। त्यसैले अब कुनै पूर्वप्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीको पदमा आँखा लगाउन भएन। पार्टीमा उमेरको थिति बसाएजस्तै (जस्तो कि ७० वर्षपछि सल्लाहकार ८० वर्षपछि वरिष्ठ कम्युनिस्ट मञ्च), शासनमा पनि कोही पनि नेता दोस्रो ‘टर्म’ बाट अवकाश लिने प्रणाली आरम्भ ग-यौंँ भने ३५/४० वर्षका उत्साही युवालाई प्रधानमन्त्रीको पदमा आसीन गराउन सक्छौंँ। जे भने पनि युवा भनेका धेरै सिर्जनशील हुन्छन् बूढाहरू भन्दा।
भारतबाट धेरै सिकेका छौंँ हामीले। त्यसैले हाम्रो दुर्गति भइरहेको छ। तर हामी भारतबाट सिक्ने अवस्थामा छैनौँ। हामीले हामीबाटै सिक्नुपर्छ। हामीबाटै भन्नुको अर्थ हाम्रो संस्कृति, हाम्रा परम्परा आदि। भारत र नेपाल एक होइनन्। धेरै कुरा मिले पनि हामीहरू दुई हौँ। हामी भनेको दक्षिण एसियाको सबैभन्दा प्राचीन देश। कहिल्यै कसैको उपनिवेश नभएको देश हो। जब कि भारत १९४९ मा जन्मिएको एउटा राष्ट्र हो, बेलायतको उपनिवेशबाट जन्मिएको। लामो समयसम्म उपनिवेश रहेको र औपनिवेशिक चेतना प्रबल रहेको छ भारतमा।