बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्।
सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्लादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
'कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको यो नै पहिलो पटक हो' एक सरकारी अधिकारीले भने।
थपिएका सङ्क्रमितसँगै बङ्लादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।
सोमबार सार्वजनिक गरिएको विवरणमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये थप २२० जनाको मृत्यु भएको पनि उल्लेख गरिएको छ।
बङ्लादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन्।
उनीहरूका अनुसार बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमति भएर पनि सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या आठ लाख ८१ हजार ५२१ पुगेको छ। तीमध्ये सात हजार २० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्।
सरकारले सार्वजनिक गरेको आधिकारिक विवरणमा बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको प्रतिशत १.१६ रहेको छ। त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ८५.१७ प्रतिशत रहेको छ।
बङ्लादेशमा एकैदिनमा सबैभन्दा धेरै जनाको मृत्यु भने गत जुलाई ११ मा भएको थियो। त्यो दिन २३० जनाको मृत्यु भएको थियो।