फलफूलको बिरुवाबाट दोहोरो फाइदा हुन्छ : कृषिमन्त्री साह

विजय साह

जनकपुर

कृषि ज्ञान केन्द्र धनुषाले मिथिला नगरपालिकाका किसानलाई फलफूलका बिरुवा वितरण गरेको छ।

किसानलाई फलफूल खेतीमा व्यवसायिक बनाउन प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना अन्तर्गत ज्ञान केन्द्रले एक हजार फलफूलका बिरुवा वितरण गरेको हो।

शनिबार मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा एक कार्यक्रमबीच किसानलाई आँप र लिचिका बिरुवा वितरण गरिएको छ। जसपा नेपालका पूर्व धनुषा जिल्ला अध्यक्ष चन्देश्वर महतोको पहलमा कृषि ज्ञान केन्द्रले मिनपाका २ सय किसानलाई पाँच वटाको दरले बिरुवा वितरण गरेका हुन्।

बिरुवा वितरण कार्यक्रममा प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले फलफूलका बिरुवाबाट दोहोरो फाइदा हुने बताए। फलफूलका बिरुवा रोपेपछि किसानलाई आर्थिक आम्दनी हुने र अर्को पर्यावरणमा सुधार पनि सहयोग पुग्ने उनले जनाए।

मन्त्री साहले मिथिला नगरपालिकाको भू–बनोट अन्नसँगै फलफूल उत्पादनका लागि उपयुक्त रहेको बताउँदै अहिलेको बिरुवा वितरण कार्यक्रम सन्देश मुलक रहेको जनाए। फलफूलका बिरुवा रोपुन भनेर किसानलाई प्रोत्साहन गर्न थोरै भएपनि बिरुवा वितरण गरिएको छ। किसानले फलफूलको बगानै लगाउन चाहन्छ भने पनि प्रयाप्त बोटबिरुवा उपलब्ध गराउने मन्त्री साहले बताए।

जसपा नेपालका पूर्व धनुषा जिल्ला अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा भएको फलफूल बिरुवा वितरण कार्यक्रममा प्रदेश २ को नीति आयोजका सदस्य प्रमिला सिंह, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साह, सरोजकुमार महतोलगायत किसानको उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-07-10 14:33:00

प्रतिकृया दिनुहोस्