“ओ रञ्जना, म बरबाद भएँ।”
म फेरि राइटिङ टेबलमा आफ्नो अधुरो उपन्यासको कभर पेजमा रहेकी रञ्जनासँग रुञ्चे आवाजमा बिलौना गर्न थालेँ।
कभर पेजमा एक्रेलिक प्यालेट नाइफ पेन्टिङ थियो र पेन्टिङमा रञ्जनाको ब्युटिबोनसम्म देखिने सुन्दर र शालिन अनुहारको पोटे«ट पनि। सम्मोहनयुक्त जिज्ञासु आँखा र केही बोलूँ नबोलूँको दोधारमा थर्थराइरहेझैँ लाग्ने ओठमा रञ्जना मन्दमन्द मुस्कुराइरहेकी थिई।
उसको आत्मविश्वास पोतिएको अनुहारमा चरम गुरुत्वाकर्षण थियो। जिन्दगीका यावत् प्रश्नहरू सुल्झिसकेझैँ चिन्तारहित चिल्लो थियो निधार, उज्यालो चेहरालाई आत्मसम्मानका साथ उचालेर बसेको थियो चिउँडो। उसको सौम्य अनुहारपछाडिको हल्का छायामा उसको जिन्दगीको सिम्बोलात्मक पीडाहरू झल्किन्थे।
मेरो हातमा रित्तिनलागेको ह्विस्की गिलास थियो। उद्वेलित मनस्थितिमा कति गिलास ह्विस्की पिइसकेको थिएँ, पत्तो थिएन। टेबलको एक कुनामा आधा बाँकी रहेको ह्विस्की बोतल थियो, जसमा कालो पृष्ठभूमिमा सेतो अक्षरले ज्याक ड्यानियल, ओल्ड नं. ७, टेनेसी ह्विस्की लेखिएको स्पष्ट देखिन्थ्यो।
म ह्विस्कीको स्वादमा त रमाउथेँ रमाउथेँ, उसको पोटे«ट बनेर आएपछि उसलाई हेरेर रमाउन थालेँ। झन् उसँग दोहोरो संवाद गर्न थालेपछि त मलार्ई सम्पूर्ण ब्रम्हाण्डियन खुसी मिलेको जस्तो लाग्न थालेको थियो। फेरि, अचानक्ली परेको बज्रपातमा म निराश भएँ, हतास भएँ र आफ्नो बैराग्य बुझ्ने ऊभन्दा अर्को कोही बाँकी रहेनन्।