कसैले बेडमा छटपटाउँदै प्राण त्यागे, कोही आइसीयू कुर्दै

आयोमेल

काठमाडौँ

अनिता श्रेष्ठ

 

भक्तपुरदेखि गंगालाल हृदय केन्द्र जाँदा बाटैमा पर्छ पशुपतिनाथ।

सधैं हतारोमा कुद्ने उनको स्कुटर एकदिन तिलगंगाको पुलमा पुगेर टक्क रोकियो।

भारतमा कोरोनाको दोस्रो लहर भयावह हुँदाको कहाली लाग्दो अवस्था–घाटकै हाहाकार, छरपस्ट लास, चितामा पुग्न कुरिरहेका शव, अनि आफन्तहरुको रोदन।

टेलिभिजनमा मात्र देखिएका यस्ता दृश्य उनले आफ्नै आँखाअगाडि देखिइरहेकी थिइन्।

आर्यघाटमा पनि शवका लाइन थिए। सैनिकहरु एकपछि अर्को गर्दै शव जलाइरहेका थिए।

तप्प आँसु झर्‍यो।

‘अहो ! म कुनै सपना देखिरहेकी थिइनँ। भारतको दृश्य नेपालमा पनि दोहोरिएको रहेछ।,’ रोशनी शाहीले भनिन्।

पेशाले उनी नर्स। आफ्नैअगाडि कैयौंको मृत्यु देखिन्। कैंयौंलाई बचाउन कोसिस गर्दागर्दै प्राण त्यागे भने कतिलाई चाहेर पनि अस्पतालमा उपचार दिलाउन सकिनन्।

गंगालाल राष्ट्रिय हृदय केन्द्रको आइसीयू विभागमा कार्यरत शाहीले स्वास्थ्य सेवा बलियो नहुँदा र समयमै तयारी नहुँदा महामारीले कसरी तहसनहस बनाउँछ भनेर आफैँले महसुस गरिन्।

कोरोना संक्रमित बिरामीलाई अस्पतालमा शय्या तथा उपचारको अभाव त खट्कियो नै। तर स्वास्थ्यकर्मी भएर कसलाई बचाउने र कसलाई नबचाउने समेत निर्णय लिनुपर्ने अवस्थाले धर्म संकटमा पारेको थियो उनलाई।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहँदा आईसीयू विभाग सम्हालेकी थिइन् उनले। त्यतिखेर दुई विरामीबीच पनि छनोट गर्नुपर्ने अवस्था आएको थियो।

प्रकाशित मिति: : 2021-07-08 18:01:00

प्रतिकृया दिनुहोस्