यसरी भयो एमाले विवादमा 'कुलिङ पिरियड'को सुरुवात, कार्यदलमा भएको सहमतिलाई ओली-नेपालले स्वीकार गर्लान् ?

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : नेकपा एमालेको ४ महिना लामो विवाद सहमति उन्मुख पुगेको छ। विवाद समाधानका लागि गठित कार्यदलको लगातार ३ दिन बसेको बैठक सहमति उन्मुख पुगेको हो।

जेठ २ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा दुवै समूहका ५/५ जना सदस्य रहेको कार्यदल गठन भएको थियो। कार्यदल गठन भए पनि विवाद मिल्नुको साटो कचल्टिएपछि उक्त कार्यदल डेढ महिना निष्क्रिय रहेको थियो। दोस्रो तहका नेताहरुले लगातार एमाले मिलाउने प्रयास गरेपछि नेपालले कार्यदल मार्फत सहमतिको मस्यौदा तयार पार्न सुझाव दिएका थिए।

दुवै समूहका नेताहरुले कार्यदल मार्फत छलफल गर्नुपर्ने बताएपछि ओलीले पनि सहमतिका लागि कार्यदलबाट मस्यौदा बनाउन तयार भएका थिए। आइतवार राति नेपाल समूहका कार्यदल संयोजक रहेका नेता भीम रावललाई ओलीले बालुवाटार बोलाएर छलफल गरेपछि कार्यदलको बैठक बस्ने वातावरण बनेको हो।

सोमवार, मंगलवार र बुधवार बसेको बैठक सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। उनका अनुसार कार्यदल झण्डै सहमति नजिक पुगेको छ तर भाषिक विषय मिलाएपछि मात्रै टुंगोमा पुग्ने कार्यदलका सदस्यहरुले बताएका छन्।

प्रकाशित मिति: : 2021-07-07 18:14:00

प्रतिकृया दिनुहोस्