प्रदेश २ : प्रदेशसभा बैठक पुनः स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो।

बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ। योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो।

प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले आज १ बजे बस्ने प्रदेशसभा बैठक यही असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए। उनले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले आज बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको बताए।

उनले प्रदेश सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न असार २४ गतेसम्म मात्रै हुने भएकाले समय व्यस्तताका कारण संसद् सचिवालयमा सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको जनाए।

असार १ गते अर्थमन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको प्रदेश सरकारको बजेटमाथि छलफल शुरु हुन सकेको छैन। प्रदेशसभा सचिवालयले बैठक बोलाए पनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद् सचिवालयले बैठक पटकपटक स्थगित गर्दै आएको छ।रासस

प्रकाशित मिति: : 2021-07-07 14:00:00

प्रतिकृया दिनुहोस्