अधिकांश जसो मानिसलाई मह मनपर्ने गर्छ। आयुर्वेदिक औषधीय गुण र पौष्टिकताले भरिएको महलाई सेवन गर्न मानिस रुचाउने गर्छन्। तर एक वर्षभन्दा कम उमेरका बच्चालाई मह दिन नहुने विज्ञहरु बताउछन्।
जुनसुकै स्रोतबाट बनाइएको मह, तथा मह समावेश भएका कुनै पनि आहार एक वर्षभन्दा कम उमेरका बच्चाका लागि हानिकारक हुने बताइएको छ।
महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राणघातक रोग बोटुलिजमको कारण बन्नसक्छ। बच्चाले माटो, मह, र महका उत्पादनको माध्यमबाट क्लोस्ट्रिडियम बोटुलिनम नामक व्याक्टेरियाका स्पोर्स (बीजाणु)को सेवन गरेमा बच्चालाई बोटुलिजम हुने सम्भावना अधिक हुन्छ।
छ महिनाभन्दा कम उमेरका बच्चामा यसको जोखिम अझ उच्च हुन्छ। ब्याक्टेरियाका स्पोर्स भएको दूषित खाना खाएको १२ देखि २६ घण्टाभित्र लक्षण देखिन सक्छ।
तर, केही शिशुले ब्याक्टेरियाबाट सङ्क्रमित भएको १४ दिनसम्म पनि लक्षण नदेखाउन पनि सक्छन्। कमजोरी, खाना खान मन नगर्ने, कब्जियत, सुस्त हुनु, झर्को मान्ने, रोइरहने, सास फेर्न गाह्रो हुने, सिजर हुने बोटुलिजमका केही लक्षणहरू हुन्। त्यसैले शिशुका लागि मह हानिकारक छ।