शेखर खरेल
राम्रा र नराम्रा दुवै कामबाट रेकर्ड राख्न सकिन्छ। अहिले दुई महादेश यूरोप र दक्षिण अमेरिका फुटबलको महाकुम्भ (यूरो कप र कोपा अमेरिका)मा जुटेका छन्। त्यहाँ गोल गर्नेहरूसँगै गोल खाने र आत्मघाती गोल गर्नेहरूको पनि छुट्टै रेकर्डहरू बन्दै छन्। यता हाम्रो देशमा पनि रेकर्ड बनाउनेहरूको कुनै कमी छैन। तर, ती रेकर्ड सकारात्मक थोरै, नकारात्मक बग्रेल्ती भेटिन्छन्।
नेपालमा सफलताको 'पुरस्कार' दिने हो भने दाबीकर्ताको खडेरी पर्नेछ। तर, अक्षमहरूको कतै कमी हुनेछैन। कोभिड-१९ महाव्याधिदेखि बाढी नियन्त्रण, सरकारदेखि संसद् सञ्चालन, खोपदेखि मलको आपूर्ति सबैतिर असफलता र अक्षमताको चाङ देखिन्छन्।
यस लेखमा एउटा व्यक्ति र विषयमाथि चर्चाको जमर्को गरिएको छ। जसको नाम नै विपर्यास झैं सुनिन्छ। राम्रा वा सकारात्मक अर्थ दिने पदावली सापेक्षतामा मात्र सारपूर्ण हुने रहेछन्। उदाहरणका लागि, आङ्लभाषाको 'पोजेटिभ' को सोझो अर्थ 'सकारात्मक' हो। तर, त्यही शब्द कोभिड-१९ वा एचआईभीसँग जोडिन्छ, घोर नकारात्मक अर्थ सम्प्रेषित हुन्छ। नेपाली तत्सम शब्द 'सुन्दर' को पनि 'पोजेटिभ' झैं कन्तबिजोग हुन पुग्छ, कहिलेकाहीँ।
देशको राजधानी शहर रहेको काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा विद्यासुन्दर शाक्यले नगरवासी समक्ष आफू निर्वाचित भएमा 'सय दिनमा सय काम' गर्ने वाचा गरेका थिए। तर, पदमा बहाल भएको सय होइन पन्ध्र सय दिन कटिसक्दा शाक्यले सयको सूचीभित्रको दर्जन जति काम पनि सम्पन्न गरेका छैनन्।