वायुसेवा कम्पनीको लुट जारी : नियमित उडान हुँदा पनि चार्टरकै भाडा, छानविन समितिको काम 'पीडितको आँखामा छारो हाल्नेमात्रै!'

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : चार्टर उडानका नाममा लुटतन्त्र चलेपछि सरकारले छानविन समिति बनायो। सँगै अन्तर्राष्ट्रिय उडान पनि नियमित गर्‍यो।

सरकारको यो कदमपछि चर्को ऋण गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकले जहाजको भाडा घट्ने अपेक्षा थियो।

तर विमान कम्पनीले नियमित उडानबाट समेत चर्को भाडा असुलिरहेका छन्।  बढी भाडा असुलेको उजुरी परेका कम्पनीले हाकाहाक्की चर्को भाडा असुलेर सरकारको छानविन समितिको समेत खिल्ली उडाएका छन्। कम्पनीको यो रबैयाले छानविन समिति निकम्मा सावित बनेको छ।

विमान कम्पनीको यो रबैयाको स्पस्ट सन्देश हो-'छानविन समिति हाम्रो मुठ्ठीमा छ। त्यही भएर हामीले जति भाडा असुले पनि कसैले केही गर्न सक्दैन।' यो सन्देशमात्रै होइन वैदेशिक रोजगारीमा जाने र फर्किने नेपालीसँग चर्को भाडा असुलिरहेको विभिन्न प्रमाणले समेत पुष्टि गर्छ। साउदीमा कार्यरत एक नेपालीले विमान कम्पनीले मनपरी भाडा असुलिरहेको र त्यसको पीडित आफू रहेको जानकारी दिए।

'मैले दुई वटा खोप लगाएको छु। नेपाल आउन टिकट काटेको होटल क्वारिन्टिनसहित हिमालय एयरलाइन्सको एकतर्फी भाडा'को ८५ हजार रुपैयाँ भन्दा कममा पाइएन,' साउदीमा रहेका ती नेपालीले भने, 'देश चलाउन हामीले विदेशमा रगत पसिना बगाएका छौं। आफ्नो देश फर्किदा पनि लुटिइरहेका छौं। तर सरकारले त्यही विमान कम्पनीलाई केही कारवाही गर्दैन।'

उनले जियोल्याण्ड ट्राभल एजेन्टबाट नेपाल फर्किने टिकट काटेका थिए। त्यही जियोल्याण्डको नेपालमा रहेको कार्यालयमा फोन गर्दा त्यहाँका प्रतिनिधिले दमाम-काठमाडौंको हवाई टिकट मूल्य ९३ हजार रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिए। विमान कम्पनी र ट्राभल एजेन्सीले श्रम गर्न गएका विदेशिएका नेपालीको पसिनामा नाफा कमाइरहेको प्रमाणित हुँदासमेत सरकार मौन रहन्छ। र, मौन रहँदा त्यो नाफाको व्यापारमा साक्षी बसेर कमिसनको भागिदार बनेको सन्देश पनि गएको छ। होइन भने कोभिडको पहिलो लहर र दोस्रो लहरमा लगातार चार्टरका नाममा भइरहेको लुटमा सरकारले कुनै विमान कम्पनी र ट्राभल एजेन्सीलाई कारवाही गरेको छैन। बरु छानविन समिति बनाएर जनताको आँखामा छारो हाल्ने मात्रै काम गरिरहेको छ।

नियमित अन्तर्राष्ट्रिय उडानहरु बन्द रहँदा चार्टर उडान भइरहेका थिए। त्यसमा यात्रुसँग निकै चर्को भाडा असुली भइरहेको गुनासो आएपछि सरकारले नियमित उडान खुला गरेको थियो। मनोमानी असुली गर्नेहरुलाई कारबाही गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति पनि गठन गरेको थियो।

प्रकाशित मिति: : 2021-07-05 09:08:00

प्रतिकृया दिनुहोस्