काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सवारी साधन चल्ने

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ। सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हाे।

अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ।

जोर-बिजोर प्रणाली हटाउँदै असार ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिए।

बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ।

खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ।

आदेश अवधिभर स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ। अन्य व्यवसायको हकमा साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ। त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी चेतावनी दिइएको छ। अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ।

घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ। अनिवार्यरुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ। काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताअनुसार मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ। नलगाएमा सवारीसाधनमा प्रवेश रोक लगाउन भनिएको छ। चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ। सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ। सवारीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ।

सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चार/चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ। गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न मिल्ने छ। त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ। गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्ने भनिएको छ। 

प्रकाशित मिति: : 2021-07-04 17:51:00

प्रतिकृया दिनुहोस्