दुर्गाले बदलेको दृश्य

नेपाल खबर

काठमाडौँ

बिनु सुवेदी

 

कोरोना संक्रमण र निषेधाज्ञाका कारण एउटै कोठामा मात्रै थन्किइरहनुपर्ने भएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई काठमाडौं साँघुरो लाग्यो, बुटवल गए। तर राजनीतिक अस्थिरताको राप काठमाडौंमा यति धेरै बढ्यो कि निषेधाज्ञामा दलहरू झन् सलबलाए, नेताहरू छटपटिए। 

प्रधानमन्त्री केपी शर्मा ओली र उनले गरेका निर्णयको समर्थन गर्ने पक्ष र विरोध गर्ने पक्षका बीचमा बिस्तारै कित्ता छुट्टिँदै जाँदा उनकै सहयात्रीले बनाएका हुन्– विपक्षी गठबन्धन। त्यही गठबन्धनमा सामेल छ– राष्ट्रिय जनमोर्चा पनि। 

अध्यक्ष केसी काठमाडौं बाहिर भएपछि स्वाभाविक रूपमा उपाध्यक्ष दुर्गा पौडेल गठबन्धनका बैठकहरूमा सहभागी हुन थालिन्। पौडेलको सहभागिताले पुरुषै पुरुषको क्लबजस्तो देखिने शीर्ष नेताहरूको छलफल स्थलको दृश्य बदलियो। पार्टी नेतृत्वकर्ताको हैसियतमा निस्किने वक्तव्यमा पुरुष नामहरूको एकछत्र तोडियो। यद्यपि अरू राजनीतिक दलका अध्यक्ष सहभागी हुने गठबन्धनका बैठकमा जनमोर्चाबाट उपाध्यक्ष जाँदा दुर्गालाई ठूला दलका सबैभन्दा ठूला नेताहरूसँग बसेर बहस गर्ने अवसर कागतालीले मात्रै जुरेको हो। तर, उनी सहभागी हुँदा पुरुषै पुरुषको बीचमा मात्रै केन्द्रित हुने मुलुकको राजनीतिक विमर्शको निरन्तरतामा ‘ब्रेक’ भने लागेको छ, यो भयंकर परिणाम नहुन सक्छ, तर सन्देश जरुर हो। 

प्रकाशित मिति: : 2021-07-03 14:20:00

प्रतिकृया दिनुहोस्