आँसु पुछ्दै 'सिईओ'काे काेठाबाट बाहिरिएँ

Breaknlinks
Breaknlinks

सधैँ दाजुहरु सबैजना बिहानै खाना पकाएर कलेज जानुहुन्थ्याे।

दिउँसाे खाना खान आउनु हुन्थ्याे। फेरि खाना खाएर कलेज गैहाल्नु हुन्थ्याे। दिनैभरि म काेठामा एक्लै हुन्थेँ।

म प्राय एफएम सुनेर बस्थेँ। एफएममा लाेकगीतहरु बज्थे अनि म गाउँ, घर, परिवार, साथीभाईहरु सम्झेर खुबै रून्थेँ। दाजुका साथी मध्येका एकजना दाइ त्याे बेला गाेर्खा एफएममा काम गर्नुहुन्थ्याे। एउटा 'प्राेग्राम'मा कहिलेकाहीँ मलाई देउडा गाउन लगाउनु हुन्थ्याे। म पनि मस्तसँग देउडा गाउथेँ। दाइहरु मेराे देउडा खुबै रुचाउनु हुन्थ्याे।

फ्ल्याटमा एकजना दाजुकाे कम्प्युटर थियाे। म सबैजना कलेज गएकाे मेसाे पारेर कम्प्युटर खाेल्थेँ। खुल्नेबित्तिकै देब्रेतिरकाे छेउमा तलतिर सानाे कुकुरकाे बच्चाजस्ताे आउँथ्याे। 'माउस'ले क्लिक गर्‍याे भने पुच्छर हल्लाउथ्याे। म क्लिक गरेर उसले पुच्छर हल्लाउँदा खुबै हाँस्थेँ। मलाई उसले पुच्छर हल्लाउदा खुबै रमाइलाे लाग्थ्याे।

अषाढ मध्यतिर एसएलसीको नतिजा आउने हल्ला चल्याे। 'हिराे भएर रिजल्ट नहुँदै काठमाडौं आइयाे। फेल भएपछि कसरी घर फर्किनू' साेच्थेँ। म फेल हुन्छु कि भन्ने डरले २/४ किलाे घटेकाे थिए।

एक दिन बेलुका रिजल्ट भयाे भन्ने खबर आयाे। म त डरले रातभरि सुत्नै सकिनँ। बिहानै गाेर्खा पत्र किन्न कालिमाटी चाेकमा निस्किएँ। आत्तिदै रिजल्ट हेर्न थालेँ। 'फर्स्ट डिभिजन'मा नाम रहेछ। म त यति धेरै खुशी भए कि त्यसै-त्यसै उफ्रिन थालेँ।

के गराैँ-गराैँ भयाे। दाजुका एक जना साथी भेटिनुभयाे। उहाँ दाजुसँगै केही वर्ष पहिले जुम्ला आएर हाम्राे घर बस्नु भएकाे थियाे। म पास भएकाे थाह पाएर दाइले खुसी हुँदै मलाई जेरि र पुरी खुवाउनु भएकाे थियाे। काेठा पुगेपछि सबैजना दाईहरु निकै खुशी हुनु हुन्थ्याे। सबैजनाले मलाई बधाई दिनु भयाे।

पहिले 'रेन्जर' पढाउछु भन्ने दाजुले मलाई 'साईन्स' पढाउने निधाे गर्नु भयाे। 'साईन्स' पढाउनुकाे एउटा मात्र कारण थियाे, म फर्स्ट डिभिजनमा पास हुनु।

बच्चा बेलाबाट कसैले मलाई ठूलाे हुँदा के बन्छाै बाबु भन्याे भने म 'रेन्जर' बन्छु भन्थेँ। अब मेराे रेन्जर हुने सपना परिवर्तन हुँदै थियाे। अब म साईन्सकाे विद्यार्थी हुँदै थिएँ।

दाजुका साथी मध्येका एक खेम नारायण पाैडेल दाइका तीन जना भाइहरु 'साईन्स' पढ्ने भनेर काठमाडौं आएका थिए। उनीहरु सबैजना एक से एक थिए। मेराे सङ्गत अब उनीहरुसँग हुन थाल्याे।

विभिन्न कलेजहरुमा 'इन्ट्रान्स' सुरु हुन थाल्याे। सुरुमा सेन्टजेभिएर कलेजमा दियाैं। एकजनाकाे  बाहेक कसैकाे नाम निस्केन। त्यसपछि निस्ट र गाेल्डेनगेट कलेजमा दियौं। गाेल्डेन गेटमा सबैजनाकाे नाम निस्कियाे। सबैले त्यहि पढ्ने निधाे गर्‍याैं।

गाेल्डेन गेट कलेजले मेराे भर्ना लिनलाई मलाई निकै फकायाे। सरहरुले 'ओहाे, जुम्लाको फर्स्ट डिभिजन भनेकाे त यहाँको डिस्टिङ्सन सरह हाे' भनेर फकाउन थाल्नु भयाे। कलेजले छात्रवृत्ति पनि राम्रै मिलाइदिन्छु भन्याे।

म त्यहीँ भर्ना भएर पढ्न थालेँ। मेराे क्लास एसएलसीमा ८५ % भन्दा माथि अंक ल्याउनेहरुकाे थियाे। उनीहरु नेपालका टप स्कुलका टप विद्यार्थीहरु थिए। म पनि के कम, जुम्लाकाे गाउँमा नेपाली मेडिएममा पढेकाे मान्छे। त्यसमा पनि फर्स्ट डिभिजनमा पास गरेकाे। म मेराे स्कुलकाे दाेस्राे फर्स्ट डिभिजन ल्याउने विद्यार्थी थिएँ। तर नाै र दश क्लासमा 'अप्सनल गणित' सम्म पनि पढेकाे थिएनँ।

बिस्तारै क्लासहरु सुरु हुँदै गए। म क्लासमा पहिलाे बेन्चमा बस्थेँ। सर-म्यामहरु पढाउन आउनुहुन्थ्याे। भटटटट पढाएर जानुहुन्थ्याे। मलाई के पढाइ भइरहेकाे छ, के भनिरहनु भएकाे छ, केही अत्ताे-पत्ताे हुन्थेनँ।

सबै विषयहरु अंग्रेजीमा पढाइ हुन्थे। अंग्रेजीमा पढाएकाे मैले केही पनि बुझ्थिनँ। म हरेक दिन कलेज जान्थेँ, कलेजबाट सरासर घर फर्किन्थेँ। दाजुहरुले पढिस् भन्दा 'अँ पढेँ' भन्थे। तर के पढ्थे, मलाई केही थाहै थिएन।

अंग्रेजीकाे क्लासमा सरले मलाई एकदिन के प्रश्न साेध्नु भयाे मैले मेसाे पाइनँ। टाउकाे मात्र हल्लाएर 'यस सर' मात्र भनेँ। पछि सरले मलाई 'आर यु डेड' भनेकाे मात्र बुझेँ। म केही पनि बाेलिनँ। मेरा क्लासका साथीहरु गलल्ल हाँसेका थिए। मेरा आँखामा गहभरि आँसु थिए।

स्कुलमा म पनि काेही विद्यार्थीले यस्तै अन्ट-सन्ट उत्तर दिदा मजाले हाँस्थेँ तर म पनि कसैकाे हाँसाेकाे पात्र बनेकाे थिए।

त्याे दिन केही साथीहरु हाँसे पनि म सबै साथीहरुकाे प्रिय मान्छे थिएँ। सबै साथीहरुले मलाई माया गर्थे। पढ्ने कुरामा मलाई सहयाेग गर्थे। उनीहरुले मलाई कहिले पनि जुम्ली भनेर हाेच्याउने गरेनन्। जहिले सहयाेग गर्थे। मैले सबै साथीहरुलाई जुम्लाको स्याउकाे सुकुटी र ओखर  खुवाएकाे थिएँ। भेट हुँदा साथीहरु अहिले पनि सुकुटी नखुवाउने भन्छन्।

त्यस्तै एक दिन दाइकाे साथीले मलाई आज कुन 'टपिक्स' पढ्याै भाई भनेर साेध्नु भएकाे थियाे। मैले 'हेड' भनेकाे थिए।

दाइले के 'टाउकाे' भन्नू भाे। मैले हाेईन दाइ 'ताप' भने। पछि दाइ मस्त हाँसेर, भाइ यसरी त कसरी साईन्स पढ्छाै यार ! 'हिट' भन न 'हेड' नभन भन्नू भयाे। मैले 'ए हुन्छ' भन्दै निरिह भावमा ङिच्च दाँत मात्र देखाएँ।

पहिलाे टर्मिनलकाे परीक्षा दिएर दशैँ मान्न घर जाने कुराे थियाे। घर जान ढिलाे हुने हुनाले अन्तिमकाे एउटा परीक्षा नदिएर चार वटा मात्र दिएर पुन कष्टकर यात्रा गरेर म घर गएँ।

दशै मानेर फर्किएपछि 'फर्स्ट टर्म'काे रिजल्ट भयाे।

सबैजनाकाे रिजल्ट बाहिरै वितरण गरिएकाे थियाे। मलाई भने कलेजकाे सिईओ रमेश कुमार सिलवाल सरले आफ्नाे क्याबिनमा बाेलाउनु भयाे। मेराे रिजल्ट देखाउनु भयाे। सबैभन्दा बढी अंक अंग्रेजीमा आएकाे रहेछ १२, बाँकिमा ४, ५, ६ मात्र थियाे। सबै विषयमा पास हुनलाई ४० अंक ल्याउनु पर्थ्याे। म राताे पिराे भएँ। कान पुरै ताताे भयाे।

सरले मलाई सम्झाउन थाल्नु भयाे, 'भाइ याे हालातले तिमी साईन्स पढ्न सक्दैनौ। बेलैमा छाेड, बरु म मेरै कलेजमा यही पैसाले कमर्समा भर्ना गरिदिम्ला।'

मलाई त्याेबेला के भयाे्-भयाे। मलाई त पुरै रुखकाे छाङ्गाँबाट झरेजस्ताे लाग्याे। वरिपरि पुरै कालाे देख्न थालेँ। केही बेरकाे माैनता पछि मैले रुँदै सरलाई भने,  'सर म पढ्न सक्छु।  म धेरै मिहिनेत पनि गर्छु। मलाई एक माैका दिनुस्। म सक्छु सर, म सक्छु, बस् एक माैका सर! '

तर सरले 'हुँदैन भाइ, सकिदै-सकिन्न। तिमीले बेलैमा हाेश पुर्‍याएकाे राम्राे, आफ्नाे खुट्टामा आफै बन्चराे हान्दैछाै' भन्नुभयाे।

म आँसु पुछ्दै त्यहाँबाट बाहिरिएँ।

(लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक हुन्।)

प्रकाशित मिति: : 2021-07-03 11:51:00

प्रतिकृया दिनुहोस्