सोमालियामा करिब ६० लाख व्यक्ति खाद्य संकटमा, सहयोगका लागि राष्ट्रसंघले गर्‍यो आग्रह

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ

सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ। 

यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको छ। समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएको सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ। 

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौं मानिस विस्थापित भएका छन्। 

यहाँका अधिकारीहरुले आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन्।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) सोमालियाका संयोजक आदम अब्देलमौलाका अनुसार कम्तीमा पनि ५० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको बताएका छन्। 

सोमालिया सरकारले गत अप्रिलमा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो।

सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था र देशहरुलाई आग्रह पनि गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-07-01 14:59:00

प्रतिकृया दिनुहोस्