बलात परिवर्तन, हिंसा र छलाङजस्ता चेतना भएका मानिसले माक्र्सवादको सार बुझेका छैनन् ।
हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन्। यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन्। उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ। तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सद्भाव बढाउन सकिँदैन।
एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दल नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ साबित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पुर्याउन सकून्। – कार्लमाक्र्स ०२७ सालको मङ्सिर महिनामा म कम्युनिस्ट भएँ। कम्युनिस्ट हुने क्रममै कम्युनिस्ट पार्टीका धेरै समूह रहेछन् भन्ने ज्ञान पनि पाएँ। कम्युनिस्ट हुने प्रक्रियाको थालनीमै मैले तीन समूहको नाम थाहा पाएको थिएँ। त्यतिबेला सबैभन्दा बलियो समूहलाई पुष्पलाल समूह भनिन्थ्यो। अर्को समूह थियो तुलसीलाल अमात्यको नेतृत्वमा चलेको। तेस्रो समूहमा मै बाँधिएको थिएँ। तर हाम्रो समूहको महामन्त्री या अध्यक्षको नाम हामीलाई सुनाइएको थिएन र हाम्रो नेता महेशले हामीलाई ‘माथिका बारेमा धेरै खोजीनीति गर्नुहुँदैन’ भन्ने शिक्षा दिनुभएको थियो। पुष्पलाल, तुल्सीलाल समूहको जानकारी पनि महेशले नै दिनुभएको थियो मलाई।
पछि म जुन समूहको नेता भएँ, त्यसलाई मैले ‘नदी प्रणालीको विकास’ भनेको छु। नेपाल कम्युनिस्ट पार्टीको विद्रोही झापाली समूह, विराटनगरको मोरङ क्रान्तिकारी सङ्गठन, सिन्धुपाल्चोकको विद्रोही समूह, सिराहाको विद्रोही समूह, काठमाडौँंको मुस्लो परिवार, पूर्वको रातोझण्डा समूह, मुक्तिमोर्चा समूह, गण्डकी माले दल, दङ्गाली समूहजस्ता ससाना नदीहरू मिलेर एउटा ठूलो नदी बन्यो। त्यसलाई अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माक्र्सवादी–लेनिनवादी) भनियो।