कांग्रेस महाधिवेशनः झन् पेचिलो बन्दै क्रियाशील सदस्यता विवाद

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच बुधबार बिहान छलफल भयो।

बोहोराटारस्थित पौडेल निवासमा दुई नेताले एकअर्कासँग सहयोग माग गरे।

१४ औं महाधिवेशनमा दुबै नेता सभापतिका लागि दाबेदारी गरिरहेका छन्।

आसन्न महाधिवेशनमा सभापतिका लागि तयारी गरिरहेका दुबै नेताहरूको छलफलमा क्रियाशील सदस्यताको विषयले प्रवेश पायो।

पौडेलले समायोजनका काम र क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न भूमिका खेल्न निधिलाई आग्रह गरेका थिए।

निधिले ‘समायोजनका काम लगभग पूरा भइसकेको र क्रियाशील सदस्यता पनि टुंगिने क्रममा रहेको’ बताए।

१४ औं महाधिवेशनको संघारमा पुगिसकेको कांग्रेसको सबैभन्दा महत्वपूर्ण पक्ष भनिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ।

देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी टुंगो लगाउन कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ।

समितिका सदस्यहरू तिलगंगास्थित पशुपति धर्मशालामा दिनरात लागेर विवाद टुंग्याउने काममा जुटेका छन्।

प्रकाशित मिति: : 2021-06-30 20:35:00

प्रतिकृया दिनुहोस्