दिल्लीः आन्दोलनरत किसानमाथि भाजपा कार्यकर्ताको आक्रमण

बिएल संवाददाता

नयाँदिल्ली, हिन्दीब्यूराे
Photo - NDTV
Photo - NDTV

भारतको गाजियावादस्थित दिल्ली–यूपी सीमामा भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताले किसानमाथि सामूहिक आक्रमण गरेका छन्।

आन्दोलनरत किसानलाई भाजपा कार्यकर्ताले सभास्थलमै हमला गरेपछि दुई समूहबीच झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

उत्तरप्रदेश भाजपा सांसद तथा मन्त्री अमित वाल्मिकीलाई स्वागत गर्न तैनाथ कार्यकर्ताले किसानलाई आक्रमण गरेका हुन्। कार्यकर्ताले किसान सभाको मञ्च तोडफोड गरेका छन्। आन्दोलनमा उत्रिएका किसानलाई भाजपाका कार्यकर्ताले ढुंगा प्रहार गरेको किसान नेताहरूले आरोप लगाएका छन्।

मन्त्री वाल्मिकलाई आक्रमणको प्रयास गर्दा भाजपा कार्यकर्ता र किसानबीच झडप भएको बताइएको छ। पछिल्लो तीन दिनयता प्रहरीको संरक्षणमा भाजपा कार्यकर्ताले आफूहरूको मञ्च कब्जा गर्ने हर–प्रयास गरेको किसान नेता राकेश टिकैतले आरोप लगाएका छन्। 

यूपीका संगठन मन्त्री वाल्मिकी गाजीपुर पुग्दा, धर्ना बसेका किसानहरूले मन्त्री र कार्यकर्तामाथि एक्कासी आक्रमण गरेको भाजपा महानगर महिला उपाध्यक्ष रनीमा सिंहले बताइन्। उनले भनिन्, ‘गाजीपुरमा मन्त्रीका लागि स्वागत् कार्यक्रम चलिरहेका बेला किसानहरूले जमेर हंगामा गरे। त्यहाँ महिला कार्यकर्ता समेत थिइन्। उनीहरूले सबैलाई एकएक गरी आक्रमण गरे।’

किसान आन्दोलनको नाममा गुण्डाहरू धर्ना बसेको भाजपाको गम्भीर आरोप छ। भारतीय जनता पार्टीले किसान आन्दोलनलाई बदनाम गर्न यस्तो कार्य गरेको किसान नेता जगतार सिंहले बताएका छन्। उनले भने, ‘किसानले मोदीका कार्यकर्ता कुटेका छैनन्। न–त कुनै तोडफोड गरे।'

प्रकाशित मिति: : 2021-06-30 17:06:00

प्रतिकृया दिनुहोस्