पुस महिनाको टुप्पोमा ओइलाउँदै गरेको एउटा दिन।
खकने झोला भिरेर बिहान मिर्मिरेमै जलजले पुलको डिलमा सिउसिउ गर्दै आइपुग्यो विशाल। मधेसको बाक्लो हुस्सुमा रेलिँदै देउरीदेखी लुसुलुसु हिँडेर आएको उसलाई छेउमै आइपुगेपछि देखें।
दुवै जनाले प्यानको गोजीबाट फुत्त थुतेर हात मिलाइयो। अनि तुरुन्त गोजिमै हालियो। उसका आँखिभौँ र कपाल सेताम्मे छ शीतले। जाडो भए पनि टोपी लाउन मन पराउँदैन ऊ जुल्फी बिग्रिन्छ भनेर।
पहाड जाने ८-१० जना मान्छे टिनको छानो र सिमेण्टको पेटी भएको प्रतीक्षालयमा अघि नै आइपुगेर टस्याकटुसुक बसेका छन्। तिनका झोलीझ्याम्टा अगाडि सडक किनारामा बिसाइएका छन्। सडकको अर्कोतिर डिलमुनि सुतिरहेको जलजले बजार निन्द्रामै थियो।
'हना, गाडी आएना त हौ', विशालको आवाज सुनियो। आउनेबेला भो, म बोलें। करिब ६ बजेर १० मिनेट जाँदा सिमेन्ट फ्याक्ट्रीको डम्फर आइपुग्यो।
झोलातुम्बी छेउमा रोकिनासाथ यात्रुहरु डम्फर चढ्न हतारिए। पाङग्रामाथि टेकेर विशाल माथि उक्लियो। उसलाई झोला समाउन दिइसकेर उसैगरी चढें आफूपनि। ढुंगामाटो बोक्ने अग्लो डम्फरमा सहजै चढ्न सकेनन् सबैजना।
माथि चढेकाहरुले तानेर उकाले। एउटी मोटी–मोटी अधबैंसे दिदी ठेलाठेल गर्दै अघिल्लो भागमा बस्न घुस्रिइन्। भनिन्- पछाडि त ज्यास्ती थेचार्छ।
यातायातको बैकल्पिक साधन नभएकाले उदयपुर सिमेन्ट उद्योगका यस्तै ड्रम-ट्रक चढेर यात्रा गर्थे, जिल्लाको पहाडी भेगकाहरु र खोटाङ जानेहरु। गाडी हिँड्यो। अलिक पर पुगेपछि त्रियुगा नदिको कजवे तर्दैगर्दा कसैले हातमा, कसैले साईकलमा सिल्बरे कित्ली झुड्याएर जलजले-देउरी बजारमा दूध बेच्न आउनेहरु देखिए।
त्रियुगाको कजवे पुगेपछि मलाई चिँ एकदिन मोतिगडा क्याम्पस पढेर क्लासमेट सीमाजीको अनुरोधमा साथीहरुसँग गाईघाट जाँदैगर्दा छालाको ज्याकेट लगाएको म फोनिक्स् साइकलसँगै लेऊमा चिप्लिएर नदिको बिचैमा पछारिएको घटना आँखामा आयो।
चुहाडे चोकमा पुगेपछि एक हुल यात्रु थपिए। त्यहाँबाट सालघारीवाला जङ्गल छिरेपछि थुप्रै नागबेली घुम्तिहरु छिचोल्ने क्रममा दिदिले भक्कु उल्टी गरिन्। 'टाउको धेरै बाहिर ननिकाल्नु है', झ्यालको सिसा अलिकति उघारेर मन्टो पछाडि फर्काउँदै गाडी हाँकिरहेका ड्राइभरले यात्रुलाई झट्ट सचेत गराए।
रोडा भरिएको कच्ची बाटोमा थतर्किंदै डम्फर हुईंकिरहेको थियो। बकेटको डाला समातेर पछाडी बसेका अरुपनी चोखो रहन पाएनन्। हावाले हुत्याएर ल्याएको छिटा अनुहारमा परेकोले हल्का थु:थु गर्दैथियो विशाल। अलिकता तेर्सिएको बाटो पुगियो। विपरीत दिशाबाट आएको अर्को डम्फरले हामीलाई कुहिरीमण्डल धुलो ओढाएर गयो।
त्यो बाटो ओहोरदोहोर गर्ने गाडिले उडाएको धुलोले छपक्कै ढाकिएका छन् आसपासका रुख-बिरुवा। हरियो जन्मजात वर्ण गुमाएका छन् त्यहाँका बोटबिरुवाले। भुइँको माटोअनुसार हुलिया फेरिएको छ।
रातोमाटे जगामा रात्तै, कमेरे जगामा सेत्तै। यस्तो लाग्छ कि- ती प्याङ्खर डाँडामा सास्ती खपेरै पनि ढिटसँग उभिइरहेका छन् त्यहाँका रुख पोथ्राहरु। गेगर माटोमाथि जेनतेन पलाएको अस्तित्व, पुसको तिख्खर ठिही, धुलोको बाक्सीले मोरिएका पात। कम्ता कहरिलो छैन ती बनस्पतिका जीवन पनि। केही फराकिलो बाटो आएपछी गाडी रोकियो।
ड्राइभर क्याबिनमा बसेका एक जना ढोकाबाटै लम्किएर ढाडतिरको बकेटमा आए। जनही १५ रुपियाँ भाडा उठाए। विशाल र मैले भन्यौँ, 'हामी स्टाफ हो।' भाडा तिर्न नचाहने तन्नेरीहरुको त्यो तरिका त्यसदिनलाई सफल भयो।
सुकौरो बजार पुगेर गाडी फेरि रोकियो। उत्तरपट्टी सुरिलो सिंदाली डाँडा ठिङ्ग उभिएको छ। दक्षिणमा बाक्लो जंगलसहित मधेस ओर्लिंदै गरेको अर्को मझौला पहाड। यी दुईको माझमा चेप्टिएर पूर्बबाट पश्चिम बग्छ सानो कुलकुले खोल्सो।
त्यसकै वरिपारी लेपास्सिएर गुजारा गरिरहेको छ फुच्छे सुकौरो बजार। त्यो खोल्सी तर्न बनाइएको वामपुड्के पक्की पुलले जोल्ठ्याएको छ पहाड-तराईको साइनो। गैंडाछाप सिमेन्टको चुनढुंगा खानी क्षेत्रमा कामगर्ने स्टाफहरुले चिया नास्ता गर्ने ठाउँ हो सुकौरो।
सबै ओर्लिए। जिउभरि लागेको धुलो बुङ्बुङ् टक्टक्याए। हामीले पनि चियासंग टेस्टी-टेस्टी बिस्कुट खायौं। हुटेल अगाडि नाला (पाईप) मा आईरहेको पानीले मुख खोकल्दै थिइन् दिदी।
अब, केही दर्जन कठिन कुइनेटा घुम्दै सिंधालीको डाँडो उक्लनु छ। मुर्कुची हुँदै नेपालटार, भुट्टार, चित्रे, बाँसबोटे, बलम्ता आदि गन्तव्य जानेहरु सुकौराबाट छुट्टिए।
रौताको बडेमान डाँडो काटेर खोटाङ जाने हामी दुईजना बाँकी रह्यौं। केही क्षण बिसाएपछी गाडी स्टार्ट भयो। फेरि चढियो डम्फरमा। चुनढुंगा (लाईम स्टोन) खानीको सिरानमा खोतलेको चुनढुंगा ओसारेर ५/७ घुम्ती मुन्तिर रहेको रोप वे क्रसर फिडरमा खन्याउनु डम्फरहरुको काम हो।
खानीको थाप्लोमै पुर्दिएपछि त्यहाँबाट अघि छिचोलेर आएको जङ्गल हुँदै रोप–वेमार्फत् जलजलेस्थित उत्पादन कारखानातर्फ सुलुलु गइरहेका बकेटहरुको रहरलाग्दो दृष्य हेरिवरि पैदल यात्रा सुरु गरियो।
सुलुत्त परेको रसिलो डाँडोमा एकादुई ग्रामीण घरहरु छन्। उकालो चढ्दै गर्दा निकै माथिसम्मै ड्रम-ट्रक र खानी उपकरणहरु चलेको आवाज सुनिन्छ, देख्न सकिन्छ। त्रियुगा नदीवारिपारि पश्चिमबाट पूर्वतर्फ तन्किएको समथर भू-क्षेत्रमा बजार, बस्ती र खेतीपाती गरिएका जमीन देखिन्छ। त्यहाँभन्दा उधो चुरे पर्वतको घना जंगलको ठीक पछाडी दक्षिणी क्षितिजमा पूर्वपश्चिम लोकमार्गमा पर्ने कदमाहा, सिराहाको लहानसम्म पुग्न भ्याउँछ आँखाले। मच्चिएर एक घण्टा उकालो हिंडेपछी रौता डाडाको काँधसम्म पुगियो।
थोरै भिरालो लेकाली चौरमा झोला बिसाएर थकाई मार्ने सल्लाह मिल्यो। विशालले चिउराको पोको निकाल्यो र २/४ मुठी फँक्यायो। भन्यो- डाँडाको बाटो जाने कि पोखरी तिरको? दुईटै बाटो सजिला छैनन्। डाँडाको बाटो गए अलिक छोटो पर्छ, तर रौता डाँडो नाघ्नलाई ठाडो उकालोमा चट्टानी चिप्ला अखेटाहरु उक्लँदै जानुपर्छ। पोखरीको बाटो जाँदा दम्स्याईलो छ। तर केही पर्तिरको खोल्सीपारी रिंगटा लाग्ने अप्ठ्यारो पहरो छ।
त्यति पार गरे त ऐसा बाटो छ। पोखरीकै बाटो जाने निधोपछी रौता डाँडाको दाहिने काछ पट्टि लागियो। गोगुन, गुराँस, पात्ले आदिका बोटमा पलाएको झ्याउबाट तपतप पानी चुहिरहेको छ। पहाडको गोरेटो न हो, जंगलको छत्तरीमुनि तप्क्यानले भिज्दै हिँडेपनी जिऊमा पसिना चैं छुटेकै छ। लाम्पातेको पात चुँडेर खोची बनाईवरि खोल्सीमा कलकल बगिरहेको कन्चन पानी पियौं।चिउराले हर्हरिएको विशालले चिस्सो पानी मनग्गै पियो र भन्यो, 'दाँतै झर्लाजत्तिकै पो भइगोयो त।' अक्काशतिर मुन्टो बटार्यो र तमासले चिच्याईरहेका झ्याउँकिरी हेर्न प्रयास गर्यो। ठाउँ-ठाउँमा सालिम्मोको बुच्कोमा टेकेर गुराँसका जरा समाउँदै पहरो उक्लिन थालियो।
एक ठाउँ- जराको चेपमा अड्किएर विशालले लगाएको हिरो चप्पलको फित्ता भ्याट्टै चुँडियो। बडो खिन्न र क्रुद्ध देखियो ऊ। भन्यो- 'एस्स्सिमा, चप्पल नि एस्तै ठौँमा चुटिनु पर्ने।' 'धन्न गाँठो चैं हराएन'। फू-फू गरेर माटो उडायो र छिनेको गाँठो जिन्स प्यानको गोजीमा हाल्यो।
केही बेरमा भीरको अप्ठ्यारो बाटो छिचोलियो। पहराको थाप्लोमा गोडा चारेक ढुङ्गाले बनाइएको सानो चौतारोजस्तो बिसौनी छ। त्यहाँ झोला टेकाएर अनुहारको डण्डिफोर चिमोट्दै वरपिपल फिलिमको गीत सुसेल्न थाल्यो विशाल। हामी दुवै जनाका आँखा चैं गाईघाट, मोतिगडा, भुल्के, बगाहा, देउरी-जलजलेतिरै ताकिरहेका थिए।
मतिर फर्केर सोध्यो- हुकसियो छ? अघि चुँटिएको चप्पल मर्मत गर्ने उसको आशय मैले बुझेँ। अहँ छैन। मेरो जवाफले बिरक्तिएको ऊ कान्लामाथि घारीतिर छिर्यो। घंगारुको काँडा ल्यायो र छिनेको चप्पलको फितामा उन्यो।
रौताको उकालो निख्रीयो। गुराँसे वनको अलिकती तेर्सो हिंडेपछी तराई-मधेसको दृष्य डाँडापारी छोडियो। डाँडावारी पुगियो। अब फेदमा कोशीनदी र कोशीपारी खाम्तेल, वतासे, लिच्कीराम्चे, मुलडाँडा, सिन्ताङ र सुनापाताल देखिन्छ।
गोडाबिसेक खुड्किला ओर्लिएपछि रौता पोखरी पुगिहालियो। त्यहाँ पोखरीको डिलमा ठूल्ठूला चापट ढुंगाले बनाइएको होचो पर्खाललाई बिसौनी पारेर खुईय गरियो। पोखरीको पूर्वपट्टी ढ्यास्स बसेको मुडुले थुम्कोले काखैमा च्यापेर राखेकोछ पोखरीलाई। थुम्कोमा टिनले छाएको एउटा पौवा छ।
सिजनमा पोखरीको भित्ताबाट शुरुहुने रौताको पाखाभरी राताम्मे गुराँस फूल्छ। विशेषगरी मधेशतिरका मानिसहरु हाइकिङ तथा क्याम्पिङका लागि आउँछन् यहाँ। प्रकृतिलाई पूज्ने हाम्रो परम्परा नै हो, यहाँ पनि पूजाआज गर्न दर्शनार्थीहरु आउँछन्।
यहाँबाट सीधा पूर्व कोशी नदीपारिको पहाडी खोँचमा खोटाङको बराहा पोखरी छ। बराहा पोखरीमा एकछत्र रातो माछा पाइन्छन्। बराहा पोखरी र रौता पोखरी दिदी–बहिनी हुन्। उहिले- आपसमा दिदी–बहिनीको झगडा पर्यो।
त्यो बेला रौता पोखरीले माछैमाछाले झट्टी हानिन् र बराहा पोखरीले भ्यागुतैभ्यागुताले झट्टी हानिन्। तब उप्रान्त रौता पोखरीमा माछा मासियो र बराहा पोखरीमा माछैमाछा भयो भन्ने किंवदन्ती बुढापाकाहरु सुनाउँछन्।
पोखरीको एकछेउमा ४/५ हात अग्लो ढुंगाको पर्खालले बारेर बनाईएको मन्दिरमा टिङ्टिङ नघण्टी हल्लाउनु, टुक्रुक्क बसेर हत्केलाले पोखरीको पानी माझतिर ५/७ पल्ट अर्चेर आफ्नो मुखतिर २/४ छिटा छर्किनु आम बटुकहरुको शैली हो। त्यसै गरियो। चोखितम् भइयो। रौता पोखरीको दर्शन भयो।
थोरै अखटे गोरेटो झरेपछी अलिक फराकिलो बाटो पुगियो। त्यसभन्दा तलतिर मट्याईलो बारीका सुर्का छन्। बारीको सिरानै सिरान तेर्सो हिँडेपछी चिसापानी भन्ज्याङ पुगियो। त्यहाँ स्याउलाको छानो भएको भुईँघर छ। चाउचाउ, बिस्कुट, खैनी आदि पाईने टुहुरे दोकान छ।
माटोको दुईमुखे चुलोमा एकापट्टी दुधको कराई र अर्कोपट्टि चियाको कित्ली छ। धुवाँ पत्पताईरहेका चिसा दाउरा बल्ने संघर्ष गरिरहेका छन्। नानीहरु के खाने? बाँसको ढुङ्ग्रोले आगो फुक्दै साहुनीले सोधिन्। भात छैन दिदी? विशालले सोध्यो।
भात त पकाउनुपर्छ। तिउन चैं इस्कुस हुन्छ। उसिनेको आलु छ, चाउचाउ खानेभए पकाईदिन्छु। साहुनीले मौखिक मेनु बताईसक्नासाथ विशाल बोल्यो- एकछिन कुपी दिनु न। क्वार्टर रक्सीको चेप्टे बोतलमा थाङ्नाको सलेदो हालेर बनाएको टुकी बत्ती अगुल्टोले सल्काएर हामीतिर दिईन्।
अघि भीर उक्लिँदा छिनेको चप्पलको फिता गाँस्यो बिशालले। हामीलाई उसिनेको आलु र नुन खोर्सानी पिसेर दिनुस्, मैले लन्च अर्डर गरें। हामी पटके बटुवा। हामीलाई चिनजानका मान्छे सरह व्यवहार गर्छन् दोकानेले। सन्चो-बिसन्चो सोध्छन्।
हाम्रो घर खोटाङ, गाईघाट बस्छौं यति जान्दछन् हाम्रोबारे। दोकाने मगर थरका हुन् यति हामीलाई थाहा छ। भोलि माघे संक्रान्ति। आजै घर पुग्ने इरादा छ। चाडबाडमा आमाले बाटो हेर्नुहुन्छ। त्यसैले त्यहाँ बियाँलो नगरी बाटो छिचोल्नु छ। खपाखप आलु खाने, बाटो लाग्ने।
खाजाको कति रुप्पे हो? सहुनीतिर हेर्दै सोधें मैले। आठ रुप्याँ- सहुनीले रकम बकिन्। मैले पर्स उघार्दैगर्दा बिशालले रोक्न खोज्यो र भन्यो- पैसा म दिन्छु। मैले भनें- हैन-हैन म दिन्छु। एसएलसी पास गरेपछी क्याम्पस पढ्न मधेस झरेका हामी दुवै।
घर एउटै गाविसमा भएपनी भेट यतै भएको हो। मभन्दा एक ब्याच जुनियर हो ऊ। म एउटा निजी स्कूलमा पढाएर मासिक १५ सय तलव पाउँछु। डेरा वरिपरिका बच्चाहरुलाई ट्युसन पढाएर महिनाको ८/९ सय कमाउँछ विशाल पनि। एकछिन खाजाको पैसा तिर्ने होडबाजी चल्यो।
विशालले पेटीमा भिरिराखेको वाकमेन झिकेर ब्याट्री फेर्यो र कानमा हेडफोन ओढायो, अनि भल्युम मिलाईवरी अघि लाग्यो। चीसापानी भन्ज्याङबाट केही फराकिलो बाटो भेट्टाईएको छ। गाईघाटदेखि खोटाङसम्म भरिया खच्चड हिँडाउने बाटो हो यो।सल्ले डाँडामा भीरको पेटैपेट बनेको तेर्सो बाटो द्रूत गतिमा हिंडियो। अब रसुवाघाटसम्म ओरालो बाटो बड्केर हिंड्नु छ। वर्षौंदेखि काकाकुल यस डाँडोमा यो साल खानेपानीको व्यवस्था भएछ। पाईप फुटेर ठाउँ-ठाउँमा सिर्का हानिरहेको भेटिन्छ।
भिरालो हुनाले माटो सोहोरिएर पानीका पाईप नाङ्गै छन् धेरै ठाउँमा। सल्लेको स्कुलमुन्तिर पाईपमाथि टेकिपठाउँदा सुल्किएर नराम्ररी थेचारिएँ म। ओरालोको मैझारो हुनुअघी जंगल पर्छ। जंगलको बाटो खच्चरको लिदीले बेजोड दुर्गन्धित छ। नाक छोपिनेगरी रुमालको पट्टि बाँधेर झर्दैछौं दुईटा तन्नेरी।
रातमाटे गाउँ पुग्नेबेलामा भारी बोकेर ओरालो झर्दै गरेका खच्चरको लस्कर भेटियो। तिनिहरुलाई उछिन्दै जाँदा सबभन्दा अगाडि एउटा बलिष्ठ खच्चर थियो। त्यसको घाँटिमा घण्टी झुण्डाईएको थियो भने टाउकोमा गात्ताको मुकुट थियो। यो चाहिँ खच्चरहरुको नाईके होला, हामीले अनुमान लायौं।
रसुवा घाट पुग्दा साडे ५ बजिगयो। पुलको मुखैनिर ठकुरी होटल एण्ड लज छ। आँगनमा बनाइएको फलैंचामा बस्यौं। चिसापानीदेखि ओरालो बाटो झरियो गुटुङ्टुङ। खुट्टाहरु लखतरान भए। पैताला झमझमाउँदैछ। पिंडुला टनटनी दुखेको छ। भुँडीका लाम्टा अररिएका छन्। 'गलेर लोत भैयो गाँठे!', बिशालले बह पोख्यो।
रसुवा पुल तरेपछी पूर्व मोडिएर कालापानी, सावाखोला, धनमुडाहुँदै खोटाङ निस्कनुपर्ने म। लिच्कीराम्चे, सिम्पानी, इन्द्रेणी पोखरीहुँदै कुलाभन्ज्याङ जाने हो विशाल। तर घाम डुबिसक्यो। छोटो दिन भएकाले जतिनै बल गरेपनी घर पुग्न नसकिने'भो आज। 'अबो तपाईंपनी माथ्लैबाटो जानु। लोकिल बजारबाट छुटुङ्ला भोलि', विशालले सुझायो। अलिक माथि पुगेर बास बस्ने र भोली भालेको डाकसँगै बाटो तताउने भयौँ। बिहान रात्ती नै हिँडियो भने भातखाने बेलासम्म घर पुगिने हाम्रो आशा छ।
ठाडो उकालो लागियो। २/४ वटा भिरालो गरामा जुनेलोका ढोड भेटिए। एकुन्टा भाँचेर लौरो टेक्दै उँभो लाग्यौं। बाटामा मसिना बुट्यान छन्। डाँडो सुकेर काठिएको छ। बस्तीपुर पुग्दा राती भइगयो। बाटो छेवैको घरमा बासमाग्ने निधो भयो। घरमा को हुनुहुन्छ! - मैले बोलाएँ।
एक जना महिलाबहिर आईन्। 'हामी त खोटाङ पुग्नु पर्ने, एतै रातपर्यो। बास बस्न पाइन्छ कि भनेर', मैले कुरो राखें। 'ए...। भाईहरु के थरी? म तामाङ हो, ऊ चिँ राई। अनि तपाईंहरु चि? - मेरो प्रतिप्रश्न। हामी छेत्री- ज्वाप आयो।
'घरको मान्छे नुन लिन मदेस गा'को छ। यै बहिरको खाटमा सुत्नु,' हामीले बास पायौँ।
कोशीपट्टि फर्केको घर, साँगुरो आँगन, सिकुवामा एउटा खाट छ। उँधो हेर्दा कोशीनदी, रसुवाघाट छ्याङ्गै देखिन्छ। भित्र दुइटा लालाबाला भात खाँदै थिए। अगेनामा आगो बल्दै थियो। घरबेटी भित्र पसिन्। हामी खाटमा बस्यौं।
'तिउन चैं आलु र गुन्द्रुक मत्रै छ। पानी फारु गर्नु। तामाङ त भित्र पस्न हुँदैन हाम्रोमा। राई भाइ आएर भात पकाउ', भित्रबाट आवाज आयो। विशालले भात पकाउन्जेल म पारिपारी गाउँका पिलपिले बत्ती हेर्दै बसें। पसिना ओभाएपछि जाडोले रफ्तार लियो।
घरी न घरी कोशीको स्याँठले बेस्मारी फुक्छ। विशालले भात ल्याईदियो मलाई। भित्रै अगेना छेउमा बसेर आगो ताप्दै भात खायो उसले। थाल-बटुका माझेर खाटमुनी राखिदिएँ। बिशालले तपेस र कन्तीपनि माझ्यो र भित्र पुर्याइदियो।
खाटमा परालको गुन्द्री थियो। मैले झोलाबाट उनीको बर्को निकालें। आ-आफ्नो झोला सिराने लाएर सुत्यौं। रात छिप्पिंदै छ, जाडो फस्टाउँदै छ। घरी बिशालले तानेर घुँडामा च्याप्छ बर्कोको छेउ। घरी आफूतिर ऐंचिन्छु म। बल्लबल्ल पहिलो भाले बास्यो तल्लो घरमा। हामी आँखा मिच्दै लिच्कीको उकालो हिँड्न थाल्यौं।