एमाले ०७५ जेठ २ कै संरचनामा फर्कँदै, माधव नेपाल समूह थप सङ्कटमा

File Photo: THT

सत्तारुढ नेकपा एमालेले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पार्टीको संरचनालाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भएको छ।

बुधवार अपरान्ह ५ बजेका लागि डाकिएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपाल समूहका मागसमेत सम्बोधन हुने गरी पार्टीलाई पुरानै ढाँचामा फर्काउन 'मृत्युपत्र'लाई अनुमोदन गर्न लागेको हो। 

महाधिवेशन आयोजक कमिटीको बैठकका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्य टुंगो लगाउन मंगलवार अपरान्ह एमाले स्थायी कमिटी बैठक डाकिएको छ। महाधिवेशन आयोजक कमिटीको उक्त बैठकले पुरानो केन्द्रीय कमिटी व्युँताउँदै आफू विघटन भएको घोषणा गर्ने छ। अनि झलनाथ खनाल, माधव नेपालको वरिष्ठ नेता पद पुनर्बहाली हुने छ।

कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यलाई जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गर्ने फैसला गर्दा न्यायाधीश प्रकाश राउतले एमालेको महाधिवेशन आयोजक कमिटी अवैधानिक भएको आदेश दिएको थियो। अदालतको सोही आदेश कार्यान्वयन गर्न एमालेले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटी बैठक डाक्ने निष्कर्षमा पुगेको हो।

एमालेको उक्त निर्णयसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेका माधव नेपाल नेतृत्वको 'समानान्तर समूह' का नेताहरुले अघि सारेका सबै मुद्दा सम्बोधन हुने छन्। अनि नेपाल समूहमा लागेका एमालेका दोस्रो तहका नेताहरुसहित केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सदस्यलाई एमालेमा फर्कन चाहनेलाई सहज वातावरण तयार हुनेछ। 

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष निवेदन हाल्ने २४ जना र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न जाने एमालेका २३ जना विघटित प्रतिनिधिसभा सदस्यलाई नैतिक संकट पैदा हुने छ। उनीहरुका सबै माग सम्बोधन भइसकेपछि पनि ओलीविरुद्ध लागिरहन एजेण्डा बाँकी रहने छैन।

ओलीलाई प्रधानमन्त्रीबाट ढाल्ने र देउवालाई प्रधानमन्त्री बनाइछाड्ने अडानमा रहेका माधव नेपालको राजनीति उक्त निर्णयले झन असहज बनाउने एमाले स्रोतको दाबी छ। नेपाल पछिल्लो समय ओली हटाएर एमालेबाटै प्रधानमन्त्री हुने संभावनाको खोजीमा छन्, जुन संभव देखिँदैन।

महाधिवेशन आयोजक कमिटीको बुधवार बस्ने बैठकले बिहीबारका लागि ०७२ जेठ २ गते कायम केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्नेछ। अनि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः व्युँतने छन। यसअघि फागुन २८ गतेको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो। 

ओली पक्षको अनुमान अनुसार, पूर्वप्रधानमन्त्री नेपाल एमालेको उक्त बैठकमा गएर सामना गर्ने सामर्थ्य राख्ने छैनन् तर उनीबाहेक सो समूहका अरु पदाधिकारी भने एमाले केन्द्रीय कमिटीको बैठकमा भाग लिन जाने छन्। त्यसले देउवा र प्रचण्डसँग गठजोड गरिरहेका नेपाललाई छाड्न अरु पदाधिकारीलाई सहज हुने छ। 

२०७५ जेठ २ अघिको एमालेका केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरू
अध्यक्षः
केपी शर्मा ओली
वरिष्ठ नेताः झलनाथ खनाल, माधवकुमार नेपाल
उपाध्यक्षहरू: वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल
महासचिवः ईश्वर पोखरेल
उपमहासचिवः विष्णु पौडेल र घनश्याम भुसाल
सचिवः प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई

स्थायी कमिटी सदस्यहरू 
सुवास नेम्वाङ
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
किरण गुरुङ

पदेन स्थायी कमिटी सदस्यहरू 
केशव बडाल
अमृत बोहोरा
डा. पुष्प कँडेल

प्रकाशित मिति: : 2021-06-29 15:26:00

प्रतिकृया दिनुहोस्