वृक्षरोपण दिवसका अवसरमा देशभर बिरुवा रोपण

RSS
RSS

सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने घोषणा गरेबमोजिम वन तथा वातावरण मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आज काठमाडौँको बुढानिलकण्ठ नगरपालिका– ८, रुद्रमतिमा वृक्षरोपण कार्यको शुभारम्भ गरिएको छ। 

सो कार्यक्रमअन्तर्गत वन तथा भू–संरक्षण विभाग, डिभिजन वन कार्यालय काठमाडौं र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सो नगरपालिकाको धोबिखोला कोरिडोरको करिब चार दशमलव दुई किमी क्षेत्रमा चार फिट अग्ला कपुर, चाँप, धूपी, करविर, कल्की, असारे, चेरी, ज्याकाराण्डा प्रजातिका तीन हजार २०० भन्दा बढी विरुवा रोपण गरिएको छ। 

कार्यक्रममा मन्त्री श्रेष्ठले विरुवा रोप्ने कार्य सहनीय भएको र रोपेको बिरुवा संरक्षणमा सबैले योगदान दिनुपर्ने बताए। 

मन्त्रालयका सचिव डा. पे्रमनारायण कडेल, विभागका महानिर्देशक मनबहादुर खड्का र नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले वृक्षरोपणको महत्वबारे प्रकाश पार्दै खाली जग्गा, सडक तथा नदी किनारालगायत क्षेत्रमा वृहत वृक्षरोपण गरी वातावरण संरक्षण कार्यमा जोड दिनुपर्ने बताएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदाय र कर्मचारी समेतको उपस्थिति रहेको थियो।

सरकारले विसं २०७६ लाई वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरी आर्थिक वर्ष २०७५/७६ मा पाँच करोड विरुवा रोपण गर्न बजेट विनियोजन गरी वृक्षरोपण महाअभियान सञ्चालन गरेको थियो। 

दिवसको अवसरमा देशभर सरकारी, गैरसरकारी तथा समुदाय र निजी क्षेत्रबाट समेत वृक्षरोपण कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

उक्त कार्यमा नेपाल सरकार र प्रदेश सरकार अन्तर्गतका निकाय, स्थानीय सरकार, विभिन्न संघ, सस्था र वन समूहहरुको सहभागिता रहेको छ। 

आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवलमा २० हजार भन्दा बढी बिरुवा रोपण गरिएको छ। 

त्यसैगरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको मिथिला नगरपालिका– ४ मा वर पीपलको रुख रोपण गरी प्रदेश हरित अभियान २०७८ को शुभारम्भ गरेका छन्।

यसै गरी सबै प्रदेशहरुमा वृक्षरोपण कार्यक्रमहरु सञ्चालन भइरहेको मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-28 21:26:00

प्रतिकृया दिनुहोस्