सरकारको नीति तथा योजनामा शैक्षिक विकासमा सूचना तथा सञ्चार प्रविधिको विस्तार गर्ने उल्लेख गरिए पनि त्यस अनुसार एक त कार्यान्वयन भएकै छैन, भएको ठाउँमा पनि नाम मात्रैका छन्।
२०७७ जेठको पहिलो साता भोजपुर दाँवास्थित सिद्धेश्वर माविका प्रधानाध्यापक सुवास दाहाललाई विभिन्न व्यापारीले पटक पटक फोन गरेर भने, “प्रदेश सरकारले तपाईंको स्कूललाई स्मार्ट इन्टरेक्टिभ बोर्डका लागि बजेट छुट्याएको रहेछ। नेपालमा स्मार्ट इन्टरेक्टिभ बोर्ड मबाहेक कसैले ल्याउनसक्दैन, ल्याउने जिम्मा मलाई दिनुपर्यो।”
त्यस वेलासम्म उक्त बजेटबारे विद्यालयलाई थाहा थिएन। यस सम्बन्धमा व्यापारीहरूको फोन आएपछि प्रधानाध्यापक दाहालले बुझ्दा थाहा भयो, एउटा स्मार्ट इन्टरेक्टिभ बोर्ड र दुई थान ५५ इन्च टेलिभिजन खरीद गर्न प्रदेश १ सरकारबाट साढे पाँच लाख रुपैयाँ विनियोजन भएको रहेछ। त्यसपछि खरीद ऐन अनुसार बोलपत्र माग गरियो। स्थानीय व्यापारीहरूले ती सामग्री ल्याएपछि इन्टरेक्टिभ बोर्ड कक्षा दशमा जडान गरियो। टीभी सेटहरू भने थन्क्याइयो।
मध्य असारमा सिद्धेश्वर माविका लागि सोही शीर्षकमा थप साढे आठ लाख बजेट आयो। थप दुईवटा इन्टरेक्टिभ बोर्ड र वैकल्पिक ऊर्जा खरीद गरियो। सिद्धेश्वर माविमा बाल विकासदेखि कक्षा १२, प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी) को जेटिए कक्षा र कक्षा नौको दुई समूह गरेर एकै समयमा नियमित १५ वटा कक्षा चल्छन्। माध्यमिक तहका ऐच्छिक विषयहरू गरी कतिपय पिरियडमा त एकैचोटि बीस वटा कक्षा चल्छन्। त्यस्तो अवस्थामा तीन वटा इन्टरेक्टिभ बोर्ड र दुईवटा टीभी कुन कक्षालाई दिने भन्ने समस्या एकातिर छ, अर्कातिर ती उपकरण प्रयोग गर्ने सीप सबै शिक्षकमा छैन।