चिनियाँ सरकारले 'एप्पल डेली' बन्द गरेपछि हङकङमा सन्नाटा

Photo :  AFP
Photo : AFP

स्वतन्त्रता खोसिएपछि हङकङ शोकमा छ। प्रजातन्त्र समर्थकको आवाज थुनिएलगतै आम–नागरिक तथा सञ्चारकर्मी चिन्तित बनेका छन्।

विगत २६ वर्षदेखि प्रकाशित हुँदै आएको 'एप्पल डेली' केन्द्रीय सत्ताको तारो बन्यो। प्रजातन्त्रको वकालत गर्ने दैनिक पत्रिका 'एप्पल डेली'को बिहिबार अन्तिम संस्करण निस्केपछि बन्द गरिएको थियाे।

अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत सञ्चार संस्थाले पत्रिका बन्द भएको दिन स्वतन्त्रताका लागि दुःखद क्षण भएको प्रकृक्रिया दिएका छन्। 'एप्पल डेली' हङकङको सबैभन्दा लोकप्रिय पत्रिका हो। डेली बन्द हुनुअघि कम्तिमा ८० हजारप्रति प्रकाशित हुन्थ्यो।

हङकङका स्थानीयलाई पछिल्लोपल्ट जनताको आवाज थिचिने त्रास थपिँदै गएको थियो। नभन्दै त्यसै भइदियो। उनीहरू भन्थे, ‘एप्पल पत्रिका हाम्रो सूचनाको साथी हो। प्राणभन्दा प्यारो छ।’

हङकङ प्रहरीको तनाव झेलिरहेका पत्रिका मालिक र सम्पादक मण्डलले भारी मनले डेली बन्द गर्ने निर्णय लिएका हुन्।

हङकङवासीका लागि बिहिबार नै पत्रिका पढ्ने अन्तिम दिन बन्यो। डेलीका पाठक भन्छन्, ‘यहाँ प्रेस स्वतन्त्रताको समाप्त भइसक्यो।’

पत्रिका बन्द हुनुभन्दा दुई दिनअघि प्रधानसम्पादक रायन लासहित दुई सम्पादक र अन्य केही कर्मचारीलाई हङकङ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे। गत मंगलबार बिहानै पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको थियो।

‘ढोका–ढोकामा प्रहरी मात्रै देखिन्थे। मैले मेरो सहकर्मीलाई फोनमा ताजा घटना सुनाए। र, ऊ स्तब्ध भयो,’ एप्पल डेलीका एक पत्रकारले भने, ‘आँखैअघि प्रधानसम्पादक पक्राउ परे। मभित्र थप डर पैदा भयो। म चुपचाप नै रहे।’

चिनियाँ सत्ताले 'एप्पल डेली'माथि राजद्रोहीको आरोप लगाउँदै पत्रिकाको सबै सम्पत्ति आफ्नो कब्जामा लिएको छ। डेलीले अनलाइन संस्करणसमेत बन्द भएको जनाएको छ।

गतवर्ष हङकङमा भएको प्रजातन्त्र समर्थनको आन्दोलनपछि 'एप्पल डेली' बन्द गर्ने सरकारकाे सबैभन्दा ठूलो र अलोकप्रिय निर्णय हो। आन्दोलनका क्रममा पत्रिकाले प्रजातन्त्र पक्षधरलाई निरन्तर साथ दिँदै आएको थियो। तर, नागरिकको समर्थन गर्दा राष्ट्रिय सुरक्षा कानून उल्लंघन भएको सरकारी पक्षको आरोप छ।

सरकारले पटकपटक चेतावनी दिँदासमेत स्वतन्त्रताको वकालत गर्न नछाडेको 'एप्पल डेली' अन्ततः बन्द भएको छ। पत्रिका बन्द गराउन बाध्य पार्ने केन्द्रीय सरकारमाथि चौतर्फी आलोचना शुरु भए पनि चीन मौन रहेको छ।

हङकङ सन् १९९७ सम्म ब्रिटेनकाे अधिनमा रह्यो। तर, २३ वर्षअघि ब्रिटेनले हङकङ चिनियाँ सत्तालाई जिम्मा दिएर गयो। चीनले शासन थालेपछि हङकङमाथि थिचिमिचो बढ्दै गइरहेको स्थानीयहरू बेलाबेला अनुभूति गर्थे।

विस्तारै प्रजातन्त्र र स्वतन्त्रता गुमाउँदै गएको हङकङमाथि गतवर्ष चीनले राष्ट्रिय सुरक्षा कानून लागू गर्‍याे। लगतै लामो समयसम्म प्रदर्शन जारी रह्यो।

स्वतन्त्रताको पक्षमा बोल्ने र लेख्ने सञ्चारमाध्यम वा स्वतन्त्र नागरिकमाथि देशद्रोहीको आरोप लगाउँदै केन्द्रीय सत्ताले हिरासतमा लिइरहेको छ।

प्रकाशित मिति: : 2021-06-28 07:18:00

प्रतिकृया दिनुहोस्