उत्तरी छिमेकी चीनमा सि जिनपिङ सन् २०१३ मा उदाए । चीनको राष्ट्रपति बने । दक्षिणी छिमेकी भारतमा सन् २०१४ मा नरेन्द्र मोदी उदाए । भारतको प्रधानमन्त्री बने । सि उदयको आधार चिनियाँ कम्युनिष्ट पार्टी थियो भने मोदी उदयको आधार भारतीय जनता पार्टी । कम्युनिष्ट पार्टीलाई नेपालमा ‘वामपन्थी’ पार्टी मानिन्छ र भाजपालाई ‘दक्षिणपन्थी’ ।
चिनियाँ कम्युनिष्ट पार्टी र भारतीय जनता पार्टीबीच व्यापक ‘वैचारिक भिन्नता’ छ । चिनियाँ कम्युनिष्ट पार्टी मार्क्सवाद-लेनिनवाद-माओ विचारधारा, देङ सिद्धान्तमा विश्वास गर्दछ । राष्ट्रपति सिले आफ्नै नाममा सि जिनपिङ विचारधारा समेत चलाएका छन् ।
भाजपाको विचारधारा पूर्वीय दर्शन र हिन्दूत्वमा आधारित ‘अविभाज्य मानवतावाद’ हो, जसले ‘क्रिश्चियन, कम्युनिष्ट र मुस्लिम’ लाई विश्व मानवतामाथिको मुख्य चुनौती मान्दछ । मोदीले सि जिनपिङको जस्तो त्यस्तो कुनै औपचारिक सिद्धान्त प्रचलनमा ल्याएका छैनन् आफ्नो नाममा । तर, ‘मोदीतन्त्र’, ‘मोदी मोडल’, ‘मोदीनोमिक्स’ जस्ता शब्द अनौपचारिक प्रयोग हुने गरेका छन् ।
चीनमा सि राष्ट्रपति मात्र हैनन्, कम्युनिष्ट पार्टीको महासचिव र सैन्य आयोगको अध्यक्ष समेत हुन् । भारतमा मोदी ‘प्रधानमन्त्री’ हुनु नै पर्याप्त छ । उनी भाजपाको अध्यक्ष कहिल्यै भएनन् । तर, भाजपाका कैयौं पूर्व अध्यक्षहरू जस्तो कि राजनाथ सिंह, नितिन गडकरी, अमित शाह उनका सहयोगी मानिन्छन् । सि जिनपिङमा होस् वा मोदीमा शक्तिको अथाह संकेन्द्रण छ । यतिका शक्तिशाली नेताहरू ती देशकै इतिहासमा पनि विरलै जन्मिएका छन् ।