म आज अचाक्ली खुशी छु, नयाँ जीवन र स्वतन्त्रता पाएकोमा।
एक ठेकेदारले हिजो मात्र काम मिलाइदिएका थिए, त्यो पनि छिमेकी दिदीको करकापले गर्दा। सायद दिदीले मेरो दु:खलाई धेरै नजिकबाट नियाल्नु भएको थियो होला।
उहाँले मलाई तिमी को हौ? भनि सोधेको हिजो जस्तो लाग्छ।
‘उही तपाईंको घरभन्दा अलि पर सानो छाप्रोमा डेरा गरी बस्ने सन्तोषी,’ मैले उहाँलाई दिएको उत्तर यही हो जस्तो लाग्छ।
नामबाटै बुझिहाल्नुभयो होला, हरेक कुरालाई सन्तोषपूर्वक हेर्ने कारणले होला आमाबुवाले मेरो नाम यही राख्नुभयो।
२६ वर्षको उमेरमा दुई छाक राम्रो खान नपाए पनि, ठूलो घरको चेली तथा बुहारी झै लाग्ने म दुई वर्षे छोरीको अभागी आमा हुँ। गत वर्ष कोभिडले बुढोको ज्यान गयो। यतिबेला मैले उनको लासलाई छुन त टाढाको कुरा, हेर्न पनि पाइन्। समाजबाटै बहिष्कृत जस्तै भए।
बुढो काम गर्ने ठाउँको साहुले दया गरेर क़ेहि रक़म उपलब्ध गराएका थिए। त्यो केहि दिनमा सकिहाल्यो। कोभिड सर्छ भनेर अरुको घरमा भाडामाझ्ने काम पनि पाइन।
काम पाएको दिन छोरीलाई दूध खुवाएर दिदीको काखमा बुझाएर काममा हिँडेकी थिए। चिया पसल पुगेर एक गिलास चिया र दुईवटा दुनोट खादै गर्दा मेरो मन छोरीको भविष्यतर्फ नै घुमिरहेको थियो। म जस्तै अभागी नबनोस् भन्नका खातिर म काममा हिँडेकी थिए।
उसको भोजन र शिक्षाको कल्पना गरिरहँदा कतिबेला चिया पसलबाट निस्कने प्रयास गरेछु थाहै भएन। फेरि पेटिकोटको इजारमा च्याप्नका लागि पैसा पनि थिएन। साहुले सम्झाए, ‘बहिनी पैसा?’
म एक्कासी झस्किए। र आग्रह गरे, ‘अहिले सूक्को छैन दाई। भरै कामबाट फ़र्किंदा दिन्छु ल!’
सायद मेरो अवस्था देखेर होला, या भनौ कोरोनाका कारण मानिसमा जागेको मानवीयताले गर्दा होला साहुले मेरो आग्रहलाई स्विकार गर्दै भने, ‘हुन्छ।’
साइटमा काम गर्दा मैले बोकेको थुन्चेमा ज्यामी साथीहरु फटाफट ईटा हालिरहेका थिए। मैले उनीहरुलाई ‘भो भो धेरै नहाल्’ भनेपछि रोकिए। बन्दै गरेको घरको सिंढी उक्लिँदै र झर्दै गर्दा थकाईले मेरो आँत थरथरी कामिरहेको थियो। सायद कमजोरीले होला।
क़ेहि घण्टापछि काम एकछिनका लागि रोकियो, थकाई मार्न। म छत माथि एउटा कुनामा ओत लागेर बसेकी थिएँ। ठेकेदार खोज्दै म कहाँ आइपुगे। र, मेरो हालखबर सोध्न थाले, ‘सब ठिक छ बहिनी?’ उनको नजर मेरो छातीमा थियो।
उनको पापी नजर मलाई अस्वभाविक लागिरहेको थियो। त्यही पनि आफ्नो आँखा जमीनतिर झुकाउँदै जवाफ दिँए, ‘ठिकै छ दाई।’ उनको आँखाबाट वासनाको आगो दन्किरहेको प्रस्ट झल्किन्थ्यो।
उसले बहिनीभन्दै एक्कासी आफ्नो हात मेरो स्तनमा राख्यो। उसको यो हर्कत मेरो लागि अपत्यारिलो थियो। किनभने एकदिन अघि मलाई काम दिँदा उ निकै सज्जन तथा नारीको इज्जत गर्ने पुरुषको रुपमा देखापरेको थियो।
उसले मेरो स्तन मुसार्दै गर्दा मलाई उ कुनै सैतानभन्दा कम लागिरहेको थिएन। त्यही भूइँको ईटा टिपरेर उसको टाउकोमा बजार्न मन लागिरहेको थियो। मैले ईटा टिपेको पनि थिए। शरीर रिसले आगो पनि भएको थियो। तर, आँट आएन। मेरो मस्तिष्कमा छोरीको भोक, डेरा भाँडा, किराना पसलको ऋण घुम्यो। हात त्यसै लराकलुरुक भए। ईटा हातबाट झर्यो। सिंढीबाट ओर्लिंदै र उक्लिदै गर्दा मनमा अनेकन कुरा खेले।
साथीहरुले बोलाइरहेका रहेछन्। कसैको आवाज सुनिन्। एकै छिनमा सबैले तल हेरे, कोलाहल मच्चियो। मैले पनि बन्दै गरेको बिल्डिङको माथिल्लो तल्लाबाट तल हेरे।
ईंटा, गिट्टी र बालुवाको भुग्रोमा लडेको एउटा अबला नारीलाई देखे। रगतको आहालमा छटपटाउँदै प्राण त्याग गरेकी ती नारी अरु कोही थिइनन्, म स्वयम् थिए।