दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

Symbolic photo
Symbolic photo

बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन्। गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो। 

गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ। सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन्। 

सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ। वडाध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुवेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो। 

डा डिलबहादुर थोकर लामाले बोधिसत्वा विहारसँगको सहकार्यमा स्वास्थ्य एकाइलाई अक्सिजन मेशिन उपलब्ध गराएका हुन्। कोरोना महामारीलाई दृष्टिगत गर्दै अक्सिजन मेशिन, पल्स अक्सिमिटर, स्यानिटाइजर, पिपिई सेट तथा अत्यावश्यक औषधि र उपकरण स्वास्थ्य एकाइलाई प्राप्त भएको छ। 

करिब रु चार लाख बराबरको स्वास्थ्य सामग्री र उपकरण प्राप्त भई हस्तान्तरण गरिएको खत्रीले जानकारी दिए। करार सेवाका दुई स्वास्थ्यकर्मी र सीमित औषधि मात्र भएको स्वास्थ्य एकाइ थप सबल बनेकामा खत्रीले खुशी व्यक्त गरे। 

सीमित स्रोत साधनमा असुरक्षित भएरै भए पनि जनताको सेवा गरिरहेको जनाउँदै हेल्थ असिसटेन्ट जगन्नाथ सुवेदीले अक्सिजन मेशिनलगायत स्वास्थ सामग्री र औषधि प्राप्त भएसँगै सेवामा खट्न थप उत्साह मिलेको बताए। 

उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउने बोधिसत्वा विहार र चिकित्सक थोकर लामाले आगामी दिनमा एम्बुलेन्स तथा भिडियो एक्स–रे मेशिनसमेत उपलब्ध गराउने वचन दिएको वडाध्यक्ष खत्रीले जानकारी दिए। 

श्वासप्रश्वासका बिरामी धेरै भएको र कहिलेकाहीँ जटिल समस्या भएर निजी अस्पतालमा महँगो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुवेदीको भनाइ छ। रासस 

प्रकाशित मिति: : 2021-06-26 12:38:00

प्रतिकृया दिनुहोस्