स्थानीय युवाद्वारा घर निर्माण

File photo
File photo

झापाको कमल गाउँपालिका–५ टुकुरेकी एक असहाय तथा विपन्न महिलालाई स्थानीय युवाले घर निर्माण गरिदिएका छन्। 

घर र पारिवारिक अवस्थाका विषयमा सञ्चारमाध्यममार्फत खबरबाहिर आएपछि सोही वडाका केही मनकारी युवाको समूहले तीन दिनभित्रै स्थानीयवासी सङ्गीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएका हुन्। 

असहाय राई परिवारलाई बसोबासको व्यवस्था गर्न सक्रियता दिएपछि तीन दिनमै टिनको छानो र घेरबार पनि टिनको राखेर घर बनाइएको स्थानीयवासी एकराज प्याकुरेलले बताए। 

घर निर्माणका लागि स्थानीय युवा नेता हुकुमसिंह राईको नेतृत्वमा व्यवसायी थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ, पवन लुइँटेल लगायतको सहयोगमा चिटिक्क घर बनाइएको हो। 

त्यस्तै घर बनाउन भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञबहादुर थापा र दुर्गा अधिकारी खटिएका थिए। 

काखका दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक वर्षअघि सङ्गीताका पति पुष्प राईको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो। ज्याला मजदूरीबाट परिवार धान्दै गरेका घरमूलीको नै अकालमा ज्यान गएपछि पीडित राई परिवारको अवस्था नाजुक बनेको थियो। 

सुकुम्बासी बस्तीमा ओत लागि बसेका उनको बालबच्चाको पालनपोषण र ओत लाग्ने छाप्रो पनि हावाले उडाएपछि झनै समस्या बनाएको छिमेकी शान्ता चेम्जोङ देवानले बताए। अहिले स्थानीय युवाको सक्रियतामा पीडितलाई घर बनाइएपछि सङ्गीतालाई ठूलो खुशी प्राप्त भएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-26 12:12:00

प्रतिकृया दिनुहोस्