विशेषज्ञ सेवाका लागि ‘मोबाइल शिविर’ सञ्चालन गरिने

कर्णाली सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत मोबाइल शिविर सञ्चालन गर्ने भएको छ। 

प्रदेश राजधानी सुर्खेत भए पनि स्वास्थ्य, शिक्षाका दृष्टिले पश्चिम सुर्खेत निकै पछाडि छ। सो क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले यही असार १५ गतेदेखि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जानकारी दिए। 

सालकोट स्वास्थ्यचौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र भएको जनाउँदै उनले भदौदेखि भने साप्ताहिकरुपमा सेवा शुरु गरिने जनाए। सालकोटमा विशेषज्ञ सेवा हुँदा अछाम र कैलालीका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने बताइएको छ। 

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए। 

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा जीतेन्द्र यादवले सामान्य शल्यक्रिया हुन नसक्दा गरीब जनता सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने समस्या भएको बताए। 

पन्ध्र शय्याको अस्पतालका रुपमा स्तरवृद्धि भए पनि जनशक्ति र स्वास्थ्य उपकरण अभावले आवश्यक सेवा दिन नसकिएको उहाँको भनाइ थियो । प्रमुख यादवका अनुसार शव परीक्षणका लागि अहिले पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ। रासस 

प्रकाशित मिति: : 2021-06-25 21:06:00

प्रतिकृया दिनुहोस्