शहिद परिवारलाई जीवन निर्वाह भत्ता

बिएल संवाददाता

सोलुखुम्बु
Symbolic photo
Symbolic photo

भोजराज कार्की
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले  शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। 

छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष असिम राइले बताए। 

संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनका लागि ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध गराउने गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। 

आगामी वर्षको लागि रु.४६ करोड ६२ लाख १६ हजार बढीको बजेट ल्याएको गाउँपालिकाले भूमिहिन सुकुम्बासी परिवारलाई जग्गा समेत उपलब्ध गराउने भएको छ। 

घर निर्माणका लागि घडेरी खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राइले बताए। यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वार्षिक रु.५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ। 

माझी समुदाय सोलुखुम्बुको थुलुङदुधकोशीको जुबु र मुक्लीमा बसोबास गर्दै आएका छन्। यस्तै गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ। 

नगरपालिका बनाइने

थुलुङ दुधकोशी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने प्रस्ताव पारित भएकोे छ। गाउँसभाले नगरपालिकामा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष राइले जानकारी दिए। 

साविक सात गाविस मिलेर बनेको गाउँपालिकामा हाल ९ वडा रहेको छ। २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १९ हजार ७६२ रहेको छ। 

जिल्लामै पहिलो पटक नामङ्कन सहित गाउँपालिका केन्द्र तोकेर आफैले भवन निर्माण गरी सेवा सञ्चालन गरेको यस गाउँपालिकामा सञ्चार सुविधा उपलब्ध रहेको छ भने वडा नं. १ नेलेसम्म पिच सडक रहेको छ। 

यसै वर्ष गाउँपालिका केन्द्र मुक्ली सम्म कालोपत्रे गर्ने कार्यक्रम छ। हाल सम्म यस गाउँपालिकाको नाममा ५० रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ भने सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको चरणमा छ। 

यस वर्षको असोज देखि ५० शय्याको सुविधा सम्पन्न दुधकोशी सामुदायिक अस्पताल समेत सञ्चालन हुने गरी काम भइरहेको निर्माण समितिका कोषाअध्यक्ष बलराम गुरुङले बताए। 

उक्त अस्पताल निर्माणका लागि महायज्ञको आयोजना गरिएको थियो। जसबाट रु.११ करोड बजेट सङ्कलनको लक्ष्य राखिएको थियो। जिल्लामै पहिलोपटक गाउँपालिका केन्द्र मुक्लीमा लक्ष्मी बैंकको शाखा सञ्चालनमा ल्याएको थुलुङदुधकोशीमा प्रहरी चौकीले समेत आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ। 

यस्तै जिल्लामै पहिलो खेलग्राम समेत सोही गाउँपालिका केन्द्र नजिकै मैदेलमा निर्माण भइरहेको छ। यस वर्ष उक्त खेलग्राम सञ्चालनमा ल्याउने जनाइएको छ। सोही गाउँपालिकामा काँगेल एअरपोर्ट रहेको छ भने एफएम रेडियो समेत सञ्चालनमा रहेको छ। 

यस्तै एनसेल र नेपाल टेलिकमको रिपिटर टावर मार्फत गाउँको सम्पुर्ण वस्तीमा सञ्चार सेवा पुगेको छ। यस्तै चार वटा साप्ताहिक हाट रहेको गाउँपालिकामा सिभिल इन्जिनियरीङको पढाई समेत गत वर्ष देखि भइरहेको छ। 

वडा नम्बर ९ लोखीममा बाली विज्ञान समेत सञ्चालन भएको गाउँपालिकामा विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनसमेत विस्तारको काम धमाधम भइरहेको छ। 

दुई वटा हाईड्रोपावर निर्माणाधिन अवस्थामा छ। एक घर एकधारा खानेपानीको लागि डिपिआर तयार पारेकाले चाडै स्वच्छ खानेपानी पिउन पाउने अपेक्षा छ।

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार हिमाली जिल्ला नगरपालिका बन्न निश्चित मापदण्डा पुरा गर्नुपर्छ। त्यसमा खासगरी  दश हजार स्थायी बासिन्दा भएको, पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक करोड रुपैयाँ भएको, सडक, सडक पेटी, विद्युत, खानेपानी, सञ्चार र त्यस्तै अन्य न्यूनतम शहरी सुविधा भएको हुनुपर्ने व्यवस्था छ। 

साथै फोहोरमैलाको व्यवस्थापन तथा ल्याण्डफिल्ड साइटको उचित प्रबन्ध भएको, प्रत्येक वडामा तोकिए बमोजिमको खुल्ला क्षेत्र तथा पार्क उद्यान भएको, कम्तीमा पच्चीस शय्याको अस्पताल सुविधा भएको, यात्रु विश्रामस्थल तथा सार्वजनिक शौचालय सहितको बसपार्क भएको, खानेपानी तथा सरसफाईको व्यवस्थालगायतका मापदण्ड पूरा गर्नुपर्नेछ। नियमानुसार तोकिएका अधिकांश मापदण्ड पूरा भएकाले नगरपालिका बनाउने तयारी थालिएको अध्यक्ष राईको भनाइ छ। रासस 
 

प्रकाशित मिति: : 2021-06-25 15:11:00

प्रतिकृया दिनुहोस्