गोदावरीको बजेट एक अर्ब ८२ करोड

गोदावरी नगरपालिकाले रु १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ। 

‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगरसभामार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरे।

चालु खर्चतर्फ रु ९३ करोड ४४ लाख २० हजार  र पुँजीगत योजनातर्फ रु ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ। 

यसैगरी गोदावरीले मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शैयाका अक्सिजनसहित आइसोलेशन कक्ष निर्माण गर्नाका साथै ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका हितमा मल्टीभिटामिन र क्याल्सियमको व्यवस्था पनि गर्ने भएको छ।

बाह्र वर्षे गोदावरीका साथै नवदुर्र्गा मेलाका लागि अक्षयकोष खडा, पर्यटकको प्रभावकारी सत्कारका लागि सञ्चालित होटलमा ग्रीन स्टिकर टाँस्ने व्यवस्था, कक्षा १ मा २५ भन्दा बढी विद्यार्र्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयलाई प्रत्येक विद्यालय रु २० हजारका दरले प्रोत्साहन अनुदान दिने भएको छ। 

कृषि क्षेत्रको लगानी नतिजामूलक बनाउन तरकारी खेतीका लागि लेल, पुष्पका लागि गोदावरी, च्याँउका लागि चापागाउँ र गोलभेडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना गोदावरीले अघि सारेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-24 18:00:00

प्रतिकृया दिनुहोस्