करिब डेढ वर्षअघि। एक दिन अपरान्ह अचानक जीवन मगरको फोन आयो।
‘सर, वीरबहादुर लामाजीको अवस्था ठीक छैन। उहाँका दुवै मिर्गौला फेल भएर अस्पतालमा हुनुहुन्छ। उहाँको बारेमा केही लेख्न पाए उपचारमा सहयोग जुट्थ्यो कि !’ जीवन दाइले आशावादी भएर फोन गरेका थिए।
म पनि परिचित थिएँ– वीरबहादुर लामा (दाइ) सँग। उनी अत्यन्त सरल थिए। ०४९ सालको स्थानीय चुनावमा मकवानपुर जिल्ला विकास समितिको सभापति भएका फाखेलका उनी ०५६ सालमा प्रतिनिधिसभा सदस्य भएका थिए। आफू बसेको आसन अतिथिलाई दिएर आफू भुइँमा बस्नु, चेलीले ल्याइदिएको लोकल रक्सीमा रमाउनु, मकैको ढिँडो अत्यन्त मिठो मान्नुजस्ता वीरबहादुर दाइका विशेषता थिए। काठमाडौंको फर्पिङबाट फाखेल हुँदै कुलेखानी जोडेर ७६ किलोमिटरमा हेटौँडा जोड्ने नेता थिए– वीरबहादुर लामा।
मैले जीवनसँग वीरबहादुरको अवस्थाबारे सविस्तार सोधेँ। उनले भने, ‘वीरबहादुरजी अहिले अस्पतालबाट डिस्चार्ज हुनुभो। कलङ्कीमा डेरामा बस्नुहुन्छ। महालक्ष्मीस्थानको अस्पतालमा हप्तामा दुईपटक डाइग्नोसिस् गर्नुहुन्छ। उपचार गर्ने पैसा छैन। कसरी बचाउन सकिन्छ भन्ने चिन्ता छ।’
शायद् कोरोना महामारी सुरु हुनै लाग्दाको संवाद थियो, यो। म उनलाई ‘जीवन दाइ’ भनेर सम्बोधन गर्थेँ। पहिलो संविधानसभा सदस्य रहेका वीरबहादुर अशोक राईसँगै एमाले छाडेर ‘समाजवादी पार्टी’ मा लागेका थिए।
नक्खु जेलमा चार वर्षसँगै बसेका र ‘जेल ब्रेक’ गरी सँगै भागेकाहरुसँग राजनीतिबाट टाढा भए पनि जीवन सम्पर्कमै थिए। ‘झापा आन्दोलन’ बाटै आएका भए पनि ठूला नेता भएकाहरुसँग त जीवनको सम्बन्ध खासै थिएन तर दुःख पाएका ‘पूर्व–क्रान्तिकारी’ हरुसँग भने उनको सम्पर्क थियो। राजनीतिमा लागेर दुःख पाएका सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारीदेखि माननीयसम्म भएका भिष्म धिमाल, वीरबहादुर लामासँग उनी नियमित सम्पर्कमा रहने रहेछन्।
सानो स्वरमा बिस्तारै बोल्ने जीवन मगरको आवाज मोबाइल फोनमा बुझ्न पनि नेटवर्क निकै प्रष्ट हुनुपथ्र्यो। अलि लामै संवादपछि वीरबहादुर लामाको स्वास्थ्यबारे थाहा पाएँ। म सम्झिरहेको छु– अलि तोते मसिनो स्वर।
उनले म 'अन्न्नपूर्णपोष्ट' मै काम गर्दैगरेको भन्ने सम्झेर फोन गरेका रहेछन्। मैले छाडेको एक वर्षभन्दा अलि बढी भइसकेको थियो। मैले ‘अनलाइन’ मा काम गर्ने बताएँ।
कोरोनाका कारण म वीरबहादुर दाइलाई भेट्न जान सक्ने अवस्था पनि भएन। जीवन दाइको आग्रहअनुसार ‘स्टोरी’ लेखेर सहयोग जुट्ने वातावरण बनाउन पनि सकिनँ। एकै पटक २०७७ कात्तिक २३ गते वीरबहादुर लामाको निधन भन्ने खबर पढेँ। दुःखी भएँ।
जीवन मगरले वीरबहादुर बिरामी भएको खबर गर्नुभन्दा करिब एक वर्षअघि पनि त्यस्तै उद्देश्यले मलाई फोन गरेका थिए। त्यस बेला चाहिँ झापा आन्दोलनकै अर्का क्रान्तिकारी ठूलो दुर्गा अधिकारीको बिरामी अवस्थाबारे बताएका थिए। उद्देश्य उही थियो– समाचारमा आएदेखि स्वास्थ्योपचारमा सहयोग जुट्थ्यो कि !
त्यसबेला मैले जीवनसँग अधिकारीको नम्बर मागेर फोन गरेको थिएँ तर अधिकारी झापा गइसकेका रहेछन्। काठमाडौं आएपछि मलाई फोन गर्ने बताएका थिए– अधिकारीले। अहिलेसम्म फोन आएको छैन। उनको अवस्थाबारे म अनभिज्ञ छु।
झापा आन्दोलनमा उनीहरुले गरेको ‘एक्सन’ का कथा पढेको करिब पाँच वर्षपछि मैले कान्तिपुर पब्लिकेशन्समा काम गर्न थालेँ। ‘नेपाल’ साप्ताहिकमा काम गर्नेबखत जीवन मगरसँग अलि घनिष्ठता बढेको थियो। कान्तिपुर दैनिकको विचार पृष्ठको सम्पादक कृष्णमुरारी भण्डारी हुनुहुन्थ्यो। जीवन मगर पनि विचार पृष्ठकै भाषा–सम्पादन गर्नुहुन्थ्यो, शायद्।
सुविधानगरस्थित कान्तिपुर कम्प्लेक्सको चौथोतल्लामा उहाँको परिचय थियो– ‘रिखाम’। त्यसताका दिनहुँजस्तै भेट हुन्थ्यो। कान्तिपुरभित्र उनको नाम थियो– जैतुन रिखाम मगर। यो नाम सीपी मैनालीले राखिदिएको उनी बताउँथे। उनले गर्ने भाषा–सम्पादनको काम पनि नख्खुजेल तोडेर भागेपछि वनारसमा भूमिगत जीवन बिताउँदा मैनालीले नै सिकाइदिएको सीप थियो, जुन जीवनपर्यन्त जीविकोपार्जनको साधन बनेर रह्यो।
जनआस्था साप्ताहिकमा ०५२ सालमा पत्रकार विनोद ढुङ्गेलले झापा आन्दोलनबारे धारावाहिक रुपमा स्तम्भ लेख्थे– ‘अतीत’ भन्ने। पृष्ठ ४ को कुनामा दुई–कोलम ठाडो छापिने उक्त स्तम्भमा जीवन मगरबारे लेखिएको थियो। त्यसबेलाको एउटा शीर्षक मलाई अहिले पनि याद छ– ‘रुद्रकान्तको टाउको खस्यो’। खुकुरीले शीरक्षेदन गरिरहेको स्केच बनाइएको थियो– त्यस स्तम्भमा। कान्तिपुरका ‘रिखाम’ नै झापाली क्रान्तिकारी जीवन मगर रहेछन् भन्ने तथ्य त्यसै स्तम्भले सार्वजनिक गरेको मलाई याद छ। धेरैले रिखाम त त्यस्ता ‘झापाली क्रान्तिकारी’ पो रहेछन् भनेर त्यसपछि चाल पाएका थिए।
नेपालको राजनीतिक इतिहासको चर्चित ०२८ सालको झापा आन्दोलनका एक ‘बाल–लडाकु’ को नाम थियो– जीवन मगर। उनी झापाको गरामनीका स्थायी वासिन्दा हुन्। १३ वर्षको उमेरमै ‘जमिन्दारलाई चार इञ्ज छोट्याउने’ झापा आन्दोलनमा लागेका जीवन त्यसको एक वर्षपछि ०२९ सालमा जेल परेका थिए।
‘व्यक्ति हत्या’ को आरोपमा अरु केपी शर्मा ओली, राधाकृष्ण मैनाली, सीपी मैनाली लगायत झापाली नेताहरुलाई ‘जन्मकैद’ को सजाय भएको थियो तर जीवनलाई भने १६ वर्षभन्दा कम उमेर भएका कारण १० वर्षमात्र सजाय सुनाइएको थियो।
जेलजीवनको चार वर्षपछि डाडु–पुन्युले सुरुङ खनेर नख्खुजेल ‘ब्रेक’ गरी ०३३ साल चैत १२ गते भागेका १५ जना राजबन्दीमध्ये एक थिए– जीवन। जेलका पर्खाल तोडेर उनीसँगै भाग्ने अन्य राजबन्दीमा सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरे, वीरबहादुर लामा, माधव पौडेल, राजेन राजवंशीलगायत थिए।
जेलबाट भागेपछि पनि जीवनले पार्टीको सम्पर्कमा आएर काम गरेका थिए। केही वर्ष वनारसमा सीपी मैनालीसँगै भूमिगत रहेका थिए। सीपी मैनालीले पनि त्यहाँको प्रकाशनगृहमा भाषा सम्पादनको काम गर्थे। जीवनले त्यहीँ सीपी मैनालीसँगै भाषा सम्पादन सिकेका थिए जुन सीपले उनी पार्टी–राजनीतिबाट धेरै टाढा भइसक्दा पनि अन्तिम दिनसम्म जीविकोपार्जन गर्न काम लागेको थियो।
कुनै बेला ‘सामन्त’ को आरोप लगाएर ‘वर्गशत्रु सफाया’ भन्दै पार्टीका निम्ति व्यक्तिको शीर–क्षेदन गर्न तम्सने दुष्साहसी बाल–लडाकु थिए– जीवन। तर, पार्टीले उनलाई ‘सांस्कृतिक–विचलन’ को आरोप लगाएर कारवाही गरेको थियो।
झापा आन्दोलनकै एक जना शीर्षनेता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ०५३ सालमा पंक्तिकारसँग पाटनको महापालभित्र दिएको अन्तर्वार्तामा जीवन मगरबारे भन्नुभएको थियो, ‘उनीमाथि पार्टीमा कहिल्यै पनि फर्कन नमिल्ने गरी कारवाही गरेको हो। जीवनभरिका लागि निष्कासित भएका हुन्।’
तत्कालीन भूमिगत नेकपा (माले) को ‘जनअदालत’ ले फैसला गरेका एक जना अभियुक्त अहिले एमालेभित्र त्यस्ता सांस्कृतिक–विचलनका घटना कति होलान् कति ? तर, १३ वर्षमै झापा आन्दोलनमा लागेर घरवार त्यागेका जीवन मगर पटक–पटकको प्रयत्नपछि पनि एमालेमा फर्कन असफल भएका थिए।
एमालेमा फर्कन असफल जीवन मगर झापा आन्दोलनकै कारण १४ वर्ष जेल जीवन बिताएका भिष्म धिमाल ०६४ सालमा माओवादीबाट सांसद् भएपछि उनी माओवादीतर्फ आकर्षित भएका थिए। पञ्चायतकालमै रोल्पा पुगेर मालेको कमिटी बनाएका उनी शायद् यही नाता जोड्ने प्रयास गरेका थिए तर त्यो पनि संभव भएन। राजनीतिबाट टाढा भएपछि उनी भाषा–सम्पादनको काम गर्दै गुजारा चलाइरहे– अन्तिम क्षणसम्म पनि।
जीवन मगरको एमाले फर्कने प्रयास जीवनकालमा कहिल्यै संभव भएन। उनको मृत्युबारे पनि एमालेले केही बोलेन। एमालेले कारवाही गरी साधारण सदस्यबाट समेत हटाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चाहिँ उनको मृत्यु भएकै दिन असार ७ गते फेसबुक पेजमा लेखेका छन्, ‘नक्खुजेल ब्रेकका एक योद्धा जीवन मगरको निधनले स्तब्ध बनायो, नेपालको कम्युनिष्ट आन्दोलनमा तपाईंको नाम विशेष छ। कमरेड जीवन मगरप्रति हार्दिक श्रद्धाञ्जली ! परिवारजनप्रति गहिरो समवेदना !!’
१४ वर्षसम्म एमाले महासचिव हुँदा जीवन मगरको योगदान सम्झेर पार्टीमा पस्न नदिए पनि नेपालले मृत्युपछि ‘जीवनको नाम विशेष भएको’ उल्लेख गरेका छन्। उनको जीवनकालमै ‘समानान्तर भेला’ मै भए पनि दोसल्ला ओढाएको भए पनि जीवन मगरको आयु केही लम्बिन्थ्यो होला कि ! उनको तीव्र इच्छा थियो– राजनीतिमा पुन:स्थापित हुने जुन सफल हुन सकेन।
अब संसारमा भौतिक रुपमा छैनन्– जीवन मगर। नेता नेपालले नै भनिसकेपछि कम्युनिष्ट आन्दोलनमा उनको नाम भएको त अर्को प्रमाण नै चाहिएन। सरल र विनम्र थिए– जीवन। कम्युनिष्ट पार्टीले परिवर्तनको सपना बाँडेर सशस्त्र क्रान्तिमा प्रयोग गरिएका एक जना बाल–लडाकुका प्रतिनिधि पात्र थिए उनी। क्रान्तिमा लागेर घर–परिवार र समाजबाट आजन्म अलग भए। पार्टीमा पुनः जोडिने असफल प्रयासमै उनले जीवन गुजारे।
सधैँ झापा आन्दोलन र ‘नक्खु जेल ब्रेक’ का दुःख पाएका साथीभाइको सरसहयोगमा उनको प्रयास भइरह्यो। वीरबहादुर लामा र ठूलो दुर्गा अधिकारीको स्वास्थ्योपचारको चिन्तामा पंक्तिकारलाई खोज्ने जीवन मगरले आफ्नो अवस्थाबारे कसैलाई भन्नै नभ्याई सुटुक्क भौतिक संसारबाट बिदा लिए।
पद–प्रतिष्ठा, धन र शक्ति आर्जन गरेका ठूला नेताबारे लेख्नेको यो दुनियाँमा धेरै हुन्छन्। एकपटक मात्र भेटेकाले पनि लेखेका संस्मरण यसअघि धेरै पढेका छौँ। राजनीतिबारे केही नजान्दै भुलभुलैयामा क्रान्तिमा लागेका ‘बाल–योद्धा’ जीवनले गुमनाम मृत्युवरण गरेका छन्। झापा आन्दोलनका एक जना अञ्जान क्रान्तिकारीलाई मेरो पनि शब्द श्रद्धाञ्जलि !