केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाईरल भयो। जसमा एकजना युटुबरले नेपाली सिनेजगतका चर्चित हस्ती राजेश हमाललाई बेतूकसँग प्रश्न गर्छन्, “तपाई त कपाल पालेको, ट्याटू हानेको ट्यापे जस्तो पो देखिनु भा छ त, किन हो यस्तो ?” शालीन ढंगबाट राजेश हमाल प्रतिप्रश्न गर्छन्, “ट्यापे भनेको के हो? तपाईको प्रश्न नै गलत छ।” अफ्रिकाबाट प्रकाशित American Speech भन्ने पत्रिकामार्फत् सर्वप्रथम सन् १९४४ मा प्रादुर्भाव भएको एउटा प्रसिद्ध अंग्रेजी भनाई यहाँनिर सान्दर्भिक हुन आउँछ, 'Don't judge the book by it's cover' तर पनि व्यक्तिको बाहिरी आवरण अर्थात् पोशाक, कपाल जस्ता कुराहरु हेरेर उसको आचरणको बारेमा अनुमान गरिहाल्ने संकिर्ण मानसिकता हाम्रो समाजमा ब्याप्त छ।
नेपाली समाजमा लागू औषध दुर्व्यसनीलाई अपमानजनक तरिकाबाट ट्यापे भन्ने चलन छ। पहिलो कुरा त दुर्व्यसनीलाई ट्यापे भन्नु नै गलत हो। दोश्रो कुनै पनि व्यक्तिले अपनाउने खास किसिमको पहिरन, जीवनशैलीलाई हेरेर उसलाई दुर्व्यसनीसँग जोड्नु दरिद्र सोचाई हो। एक्काईसौ शताब्दीको सभ्यतालाई नसुहाउने पाखण्ड हो। घृणा दुर्व्यसनीलाई होईन दुर्व्यसनलाई गरिनुपर्छ।
दुर्व्यसन एउटा रोग हो, अरु रोग जस्तै। तर यो रोगले रोगीलाई मात्र नभएर उसको परिवार, समाज र सिङ्गो देशलाई नै नकारात्मक असर गरिरहेको हुन्छ। त्यसैले रोग लाग्न नदिन नै सचेत हुनुपर्छ। रोग लागिहालेमा समयमा नै उपचार गर्नेतर्फ अग्रसर हुनुपर्छ। त्यसको लागि यो रोग के हो? कस्तो व्यक्तिलाई लाग्छ? कसरी लाग्छ? रोकथामका उपायहरु के-के हुन सक्छन्? भन्नेबारे ज्ञान हुनु जरुरी छ।
मानिसको शरीरमा सबैभन्दा पछि विकशीत हुने अङ्ग free fontal cord हो। जुन निधार पछाडी मस्तिष्कको भागमा हुन्छ। ३० वर्ष उमेर पुगे पछाडी मात्र यो अङ्ग पूर्ण विकसित हुन्छ। free fontal cord को मुख्य काम भनेको भविष्यका योजनाहरुको बारेमा नसोची तुरुन्तै मजा आउने काममा रमाउने ईच्छाहरुलाई रोक्नु हो। किशोर-किशोरीमा यो अङ्गको विकास नभईसकेको हुँदा उनीहरु तुरुन्तै आनन्द दिने कुराहरुमा आकर्षित हुने क्रममा लागूऔषधिको दुर्व्यसनी बन्न पुग्दछन्। अनि लागूपदार्थ त्यसमा पनि गाँजाको प्रयोगले यो free fontal cord विकसित हुने प्रकृया झन् ढिलो हुँदै जान्छ।
दुर्व्यसनकाे रोग किशोरावस्थामा शुरु हुन्छ र उमेर बढ्दै जाँदा घट्दै जान्छ। बच्चाहरुको मस्तिष्क छिट्टै बाउन्स ब्याक हुने हुँदा लागूऔषधको प्रयोग गरिसकेका छन् भने पनि समयमै उचित मार्गदर्शन तथा उपचार पाएको खण्डमा सजिलै छोड्न पनि सक्छन्। तर किशोरावस्थामा नै लागूऔषधको प्रयोग धेरै नै गरिसकेको छ भने यसले दिर्घ रोगको रुप लिन्छ।
यो जैविक कारणबाहेक अन्य सामाजिक, मनोबैज्ञानिक, आर्थिक कारणहरुले गर्दा पनि बालक तथा किशोर-किशोरीहरु यसको शिकार बन्न पुग्दछन्।
केटा-केटीहरु बढ्दो उमेरमा नयाँ-नयाँ कुराहरुको अनुभव लिन चाहने, लुकेर-ढाँटेर कुनै काम गर्दा गौरव महशुस गर्ने, उपद्रव गर्न पाउँदा आनन्द मान्ने प्रवृत्तिका हुन्छन्। यही होडबाजीमा चुरोट, गाँजा लिदै गर्दा जुन बच्चाको जिनले त्यस्तो लतलाई छोड्न सक्दैन, तिनीहरु दुर्व्यसनी बन्न पुग्ने धेरै सम्भावना रहन्छ।
परिवारमा अभिभावक तथा ठूला सदस्यहरुले धुम्रपान, मध्यपान गर्दछन् भने त्यो देखेर हुर्केका बच्चाहरुलाई स्वभाविक रुपमा त्यस्ता चिजहरुप्रति कौतूहलता बढ्दै जान्छ र त्यो कौतूहलता मेटाउन लुकि-लुकी चुरोट, रक्सी, बियर खान सुरू गर्दछन्।अभिभावकहरु आफ्ना केटाकेटीलाई त यसको सेवन नगर्न भन्छन्, तर आफू उनीहरुकै अगाडी प्रयोग गर्छन्। बच्चाहरुलाई नै किन्न पठाउँछन् जसको कारण केटाकेटीलाई अभिभावकको अर्ति-उपदेशमा विश्वास लाग्दैन र अभिभावकको कुरा नटेर्ने हुन्छन्। पश्चिमी विकसित मुलुकहरुमा निश्चित उमेर नपुगेसम्म यस्ता वस्तुहरुको खरिद-बिक्रि गर्न नपाईने कानूनी व्यवस्था छ। केटाकेटीले आफ्नो उमेर पुगेको परिचय पत्र देखाएर मात्र चुरोट रक्सी खरीद गर्न पाउँछन्।
अहिले एकात्मक पारिवारीक संरचनाको विकास भईरहेको छ। त्यसमा पनि बाबु-आमा दुवै घरबाहिर काम गर्ने कारणले बच्चाहरुलाई पर्याप्त समय दिन नसकेको कारण उनीहरु दुर्व्यसनकाे कूलतमा लागेको समयमै थाहा नहुँदा पछि गएर नराम्ररी फस्दछन्। बाबु–आमाले समय चाहीँ दिन नसक्ने, तर पैसा चाहीँ जति नि दिने गर्दा पनि बच्चाहरुलाई दुर्व्यसनमा लाग्न सजिलो हुन्छ।
हाम्रो समाजमा बच्चाहरुलाई 'अण्डरस्टीमेट' गर्ने अर्थात् उनीहरुको भावनाको कदर नगर्ने, जहिले पनि बच्चा नै सम्झिने, उनीहरुको समस्यालाई गम्भीरतापूर्वक नलिने, ईच्छा-आकांक्षा नबुझिदिने, बच्चाहरुले गल्ती गरेको थाहा पाएमा गाली गर्ने, तर्साउने, “तिमीले गरेको काम नराम्रो, तिम्रो साथी-भाईकाे संगत नराम्रो” भनेर जहिले पनि गलत देखाउने अभिभावकको कमजोरीले गर्दा बालबालिका तथा किशोर-किशोरीहरु आफ्ना अभिभावकबाट टाढिदै गएर दुर्व्यसनतर्फ धकेलिन्छन्।
त्यसकारण बच्चाहरुलाई अनुशासनमा राख्न निर्देशनात्मक तरिकाले अब काम गर्दैन भन्ने कुरालाई हामीले बुझ्नु जरुरी छ। यो ठिक त्यो बेठिक, यसो गर त्यसो नगर भन्नु भन्दा पनि आफू नै अनुशासित बन्ने, कमसेकम बच्चाहरुको अगाडी धुम्रपान, मद्यपान नगर्ने, कमाएर ल्याई खान दिएपछि/पढाईदिएपछि आफ्नो कर्तव्य पूरा भयो भन्ने नसोची बच्चाहरुसँग सकेसम्म बढी समय बिताउने गर्नुपर्छ। न कि मोबाईल, फेसबुक र साथीहरुसँग। छोराछोरीहरुसँग मित्रवत व्यवहार गर्नुपर्दछ। उनीहरुको पढाई कमजोर हुँदै गईरहेको छ कि? घर परिवारसँग त्यति बस्न नचाहने बाहिर-बाहिरै ज्यादा समय बिताउन थालेको छ कि? भन्ने कुरामा चनाखो रहनु पर्दछ। कुनै गल्ती गरिसकेको छन् भने पनि बिस्तारै सम्झाउनुपर्छ। अलिकति प्रयास गरेमा उनीहरु गुज्रिरहेको नराम्रो अवस्थाबाट निक्लन सकिन्छ भन्ने विश्वास दिलाउनु पर्दछ। आवश्यक परेको खण्डमा मनोचिकित्सकबाट परामर्श गराउनु पर्दछ। उसलाई “तैले अपराध गरिस” भनेर थुनेर राख्नुभन्दा पनि यो एउटा रोग हो, जुन हर-कोहीलाई लाग्न सक्छ, यसको उपचार हुन्छ/उपचार गर्नुपर्छ भन्ने कुरा बुझाउनुपर्दछ। ताकि उ कुलतबाट निस्कन उच्च मनोबलका साथ प्रयास गरोस्।
पढाईबाट बचेको समय बच्चाहरुलाई खेलकूद, चित्रकला, गायन अथवा कुनै पनि कलात्मक कार्यहरुमा लगाउन सके उनीहरुले दुव्र्यसनतर्फ आकर्षित हुने मौका पाउँने सम्भावना कम रहन्छ।
तर यदि समयमै यसलाई त्याग्न सकिएन भने यसले शारिरीक, मानसिक रुपमा अत्यन्तै कमजोर/बिक्षिप्त बनाउँदछ। एच आई भी एड्स जस्तो प्राणघातक रोगसमेत लाग्न सक्छ। भविष्य अन्धकार हुनेछ। यो व्यक्तिगत समस्यामा मात्र सिमित नभएर समाज र देशकै विरुद्धको अपराध बन्न पुग्छ, कानूनी उत्तरदायित्व बहन गर्नुपर्ने हुनसक्छ भन्ने कुरामा पनि सजग गराउनु पर्दछ। यदि कानून बमोजिम सजाय भोग्नुपर्ने कार्य केटाकेटीले गरिसकेको खण्डमा उनीहरुलाई अनेक उपाय लगाएर बचाउनुभन्दा पनि कानूनको जिम्मा लगाउनु पर्दछ।
कानूनी व्यवस्था
दुर्व्यसनलाई अपराध मानेर दण्डित गर्ने कार्य २०१७ सालबाट शुरु भएको अवस्थालाई हेर्दा सदियौदेखि यसको समस्या समाजमा व्याप्त थियो भन्ने देखिन्छ। यद्यपि, हिन्दू धर्म ग्रन्थहरुमा गाँजाबारे उल्लेख भएको पाईनुले अनन्त कालदेखि नै समाजमा यसको अस्तित्व रहेको मान्न सकिन्छ।
मादक पदार्थ ऐन, २०१७ र मादक पदार्थ नियमहरु २०१९ हुँदै हाल लागूऔषध (नियन्त्रण) ऐन, २०३३ विद्यमान रहेको छ। लागूऔषध (नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०४३/लागूऔषध (नियन्त्रण) (दोश्रो संशोधन) ऐन, २०४४/केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८/लागूऔषध (नियन्त्रण) (तेश्रो संशोधन) ऐन, २०४९/केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५५ द्धारा पटक-पटक संशोधित र परिमार्जित हुँदै हालसम्म लागू औषध (नियन्त्रण) ऐन, २०३३ नै अस्तित्वमा रहिरहेको छ।
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा २२ ले यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुने र सो मुद्दा सरकारी मुद्दासम्बन्धि ऐन, २०१७ को अनुसूची १ मा समावेश भएको मानिनेछ भन्ने व्यवस्था गरेर यसलाई गम्भीर प्रकृतिको फौजदारी कसूरको रुपमा चित्रण गरेको छ। ऐनको दफा ३ को खण्ड (क) ले लागूऔषधिको परिभाषा गरेको छ, जस अनुसार गाँजा, औषधोपयोगी गाँजा, अफीम, तैयारीको अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात, अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण मिसाई तयार गरेको पदार्थ, नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स)हरु लागूऔषध हुन्।
यस्ता लागूऔषधिको खेती, उत्पादन, तयारी गर्ने, खरीद, बिक्री-वितरण गर्ने, निकासी वा पैठारी, ओसार–पसार गर्ने, संचय गर्ने वा सेवन गर्ने कार्यलाई ऐ. दफा ४ ले बन्देज लगाएको छ। दफा २ ले नेपाल राज्यभित्र लागूऔषधको व्यापार गर्ने वा नेपाल राज्यबाट निकासी पैठारी गरी विदेशमा बसी व्यापार गर्ने नेपाली नागरिक वा विदशीलाई समेत यस ऐन बमोजिम कारवाही र सजाय गरिने व्यवस्था गरेको छ। दफा ८ ले तुरुन्तै केही कारवाही नगरेमा अपराधी भागि जाने वा अपराधको प्रमाण नष्ट हुने सम्भावना भएमा अनुसन्धान अधिकारीले बिना वारेन्ट घर, जग्गा, सवारी वा अन्य ठाउँमा प्रवेश, खानतलासी, कब्जा वा गिरफ्तार गर्ने सम्मको अधिकार प्रदान गरेको छ।
दफा ८ को खण्ड (क) ले कुनै व्यक्तिले लागूऔषध कारोबार गरेको छ भन्ने शंका भएमा अनुसन्धान अधिकारीले त्यस्तो व्यक्तिको सम्पत्ति विवरण माग गर्न सक्ने, दफा १८ ले अपराधसँग सम्बन्धित मालसामान जफत हुन सक्ने, १८ (क) ले यस ऐन विपरीतको कार्य गरी आर्जन गरेको सबै सम्पत्ति जफत हुने व्यवस्था गरेको छ। दफा १२ अनुसार कुनै व्यक्ति उपर लागूऔषध कारोबारको अभियोग लागेमा आफूलाई निर्दोष प्रमाणित गर्ने भार सो व्यक्ति उपर नै रहन्छ। अर्थात् प्रमाणको भार अभियुक्तमाथि रहन्छ।
(ऐनको परिच्छेद ३ दफा १४ ले लागूऔषध दुर्व्यसनी र कारोबारीलाई सजायको व्यवस्था गरेको छ, जस अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना गरिनेछ भने अफिम, कोकाजस्ता लागूऔषध सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ। तर चिकित्सा केन्द्रमा गाजाँ खाने व्यक्तिलाई एक महिना सम्म र अन्य अफिम, कोका लगायतका प्रयोगकर्तालाई तीन महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरिदिएमा १५–१५ दिनमा चिकित्सा केन्द्रबाट उपचार गराईरहेको प्रतिवेदन पेश गर्ने गरी त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्छ।
त्यस्तै कारोबार गर्नेहरुको सम्बन्धमा गाँजा खेती गर्ने, ओसार–पसार गर्ने, खरिद बिक्री गर्नेलाई न्यूनतम तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवानादेखि अधिकतम दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ भने अफिम, कोका लगायतका कारोबारीलाई न्यूनतम् एक देखि तीन वर्ष कैद र पाँचदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना र अधिकतम् पन्ध्र वर्षदेखि जन्म कैद र पाँचदेखि पच्चीस लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ। )
दफा १५ ले आफ्नो घर, जग्गा वा सवारीमा लागूऔषध कारोबार गर्न दिने व्यक्तिलाई समेत छ महिनादेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुन सक्ने व्यवस्था गरेको छ।
सो बाहेक लागूऔषध सम्बन्धि कसूरको सजाय निर्धारण सम्बन्धी सामान्य मार्गदर्शन २०७४, मुलुकी अपराध संहिता ऐन, २०७४ ले पनि यो समस्यालाई सम्बोधन गरेको छ। मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ३७ को खण्ड (च) ले लागूऔषधको ओसार-पसार तथा कारोबार सम्बन्धि कसुरमा कुनै पनि अवस्थामा कैद कट्टा हुन नसक्ने व्यवस्था गरेर यस्ता अपराधीहरुलाई निरुत्साहित गरिएको छ।
यसरी लागूऔषध दुर्व्यसनी तथा कारोबारीलाई निरुत्साहित गर्न कानून यथेष्ठ भएता पनि समाजका अन्य सबै वर्गहरुको पनि त्यत्तिकै योगदानको खाँचो छ। संसारभरीका मानिसहरु, विशेषगरी किशोर-किशोरी र युवा-युवतीहरुलाई लागूपदार्थ दुर्व्यसनविरुद्ध जागरुक गराई दुर्व्यसनमुक्त स्वच्छ र स्वस्थ विश्वको निर्माण गर्ने कार्यमा जोड दिदै संयुक्त राष्ट्र संघको साधारण सभाले सन् १९८७ मा निर्णय गरेपश्चात सन् १९८८ देखि प्रत्येक वर्ष जुन २६ तारिखका दिन लागूऔषध दुर्व्यसनविरुद्ध दिवस मनाउने गरिदै आएको छ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुबाट युवाहरुलाई भेला गराई यो दिन विद्यालय, विश्वविद्यालय, कार्यस्थल, सार्वजनिक स्थलहरुमा लागूऔषध र यसको नकारात्मक असरहरुको बारेमा जनचेतना फैलाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रमहरु, सेमिनार, गोष्ठि आयोजना गरिन्छ। यस्ता कार्यक्रमहरुमा लागूपदार्थ प्रयोगकर्ताहरुले दुर्व्यसनमा फस्दाको आफ्नो अनुभव, यसको कूलतबाट भोग्नु परेको पीडा, यसबाट उम्कन गरिएका प्रयासहरुको बारेमा आफ्नो अनुभव सुनाउने मौका पाउँछन्, जुन कुरा सुनेर अन्य युवाहरु यसबाट समयमा नै बच्न सक्दछन्।
दुर्व्यसनीलाई सजाय गर्ने होईनकि बरु दुर्व्यसनबाट मुक्त हुनको लागि समाजले सहयोग र साथ दिनुपर्छ भन्ने चेतना फैलाउन विभिन्न शहरहरुमा यो दिन जुलूस निकालिने प्रचलन छ। प्रत्येक वर्ष एउटा गहकिलो नारा अघि सारेर यो दिवस मनाईने गरिन्छ। यो वर्ष सन् २०२१ को लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको नारा 'Share Facts On drugs, Save Lives' रहेको छ।
नेपालमा दुर्व्यसनीको अवस्था र पुर्नस्थापना
नेपाल प्रहरी प्रवक्ताको कार्यालकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा मात्र ५०९२ केजी ४१३७२ ग्राम १६५३ मिलीग्राम गाँजा, ४५१ केजी १७७४७ ग्राम २९५६ मिलीग्राम चरेश, १ केजी ६८१९ ग्राम २४९०० मिलीग्राम हेरोईन, २५५ केजी ५९८९ ग्राम ८२० मिलीग्राम अफीम, ३१ ग्राम ३३१ मिलीग्राम कोकिन, १९३४७० ट्याबलेट, १४२५८४ एम्पुल, १६७८७ कोरेक्स, ४ केजी २०७ ग्राम ७० मिलीग्राम एम्फोटामाईन, ४ केजी ग्राम पोल्याण्डसहित नेपालका विभिन्न स्थानबाट नेपाली तथा विदेशीहरु पक्राउ परेका छन्। दुर्व्यसनबाट बालबालिका तथा किशोर किशोरीहरुलाई टाढा राख्न सहयोग पु-याउने खेलकूद क्षेत्रबाटै हालसालै जावलाखेल फुटबल क्लबका म्यानेजर पार्टी ड्रग मानिने एम्फेटामाईन आईस ड्रग सहित पक्राउ पर्नु दुर्भाग्यपूर्ण कुरा हो।
नेपालमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी केटाकेटी दुर्व्यसनमा फँसेका छन्। शहरमा बढ्दो एकल पारिवारीक संरचना, आधुनिक जिवनशैलीको होडबाजी, यसका कारोबारीहरुको बढ्दो सक्रियता यसका कारण हुन सक्छन्।
दुर्व्यसनी युवाहरुलाई उपचार गर्नको निम्ती सरकारी तथा गैर–सरकारीस्तरमा उपचार केन्द्रहरू सञ्चालनमा छन्। यस्ता केन्द्रहरूले विभिन्न थेरापीमार्फत् उपचार गरेर उनीहरुलाई दुर्व्यसनमुक्त बनाई समाजमा पुनःस्थापना गराउन मद्दत गर्दछ। यो कार्य अत्यन्तै चुनौतीपूर्ण रहेको छ।
पुनःस्थापनाका चुनौतीहरु
हाम्रो समाजमा साथीहरुको जमघटमा वा कुनै पार्टीहरुमा चुरोट तान्न/रक्सी पिउन एक अर्कालाई कर गर्ने चलन छ। यतिले केही गर्दैन भन्दै मुखमै लगेर ठोसिदिने कार्यसमेत सामान्य मानिन्छ। जसको कारण दुर्व्यसन छाडिसकेको रिकभरिङ्गहरु पुनः रिल्याप्स हुने सम्भावना रहन्छ।
लागूपदार्थमा पनि सिरिन्ज प्रयोगकर्ताहरुलाई एच.आई.भी. एड्स जस्तो रोग सरेको हुन सक्छ। यस्तो भएको खण्डमा दुर्व्यसन छोडेता पनि त्यसले दिएकाे रोग आफूसँग रहिरहने कारणले पनि थप निराशा निम्त्याउन सक्छ।
सानै उमेरमा कुलतमा लागेको हुने हुँदा उनीहरुले पढाई बिचैमा छाडेका हुन्छन्। दुर्व्यसन मुक्त भईसकेपछि पढ्न नसकेको हिनताबोध र सोही कारणले राम्रो जागिर पाउन नसकेपछि निराश हुन पग्दछन्। धेरैजस्तो रिकभरिङ्गहरु आफूजस्तै दुर्व्यसनहरूकाे उपचारमा मनोपरामर्शदाताको रुपमा कार्य गर्न ईच्छुक हुन्छन्।
लगभग उस्तै अनुभव र अवस्थाबाट गुज्रिएर आएको हुँदा रिकभरिङ्गले दिने परामर्श स्वभाविक रुपमा प्रभावकारी पनि हुने गर्दछ। २०७५/०९/०६ को मन्त्रिपरिषदको बैठकमा 'लागूऔषध प्रयोगकर्ताहरुको लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५' स्वीकृतिको लागि पेश भई हाल उक्त निर्देशिका लागू भएको छ। उक्त निर्देशिकामा धेरै आवश्यक, सकारात्मक कुराहरु व्यवस्था भएको भएता पनि दफा ७ को (१) (ङ) मा गरिएको मनोपरामर्शदाता हुनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा बाह्र कक्षा उतिर्ण भएको हुनुपर्ने व्यवस्थाले रिकभरिङ्गहरुलाई मर्का थपिएको छ। जब कि अधिकांश दुर्व्यसनीहरू निकै कम उमेरमा यसमा लाग्ने हुँदा विद्यालयस्तरको पढाई नै पूरा गर्न सकेका हुँदैनन्। सिंगो देश चलाउने मन्त्री, प्रधानमन्त्रीको लागि शैक्षिक योग्यता नतोकिएको ठाउँमा लागूऔषध उपचार केन्द्रमा मनोपरामर्शदाताको काम गर्न शैक्षिक योग्यता तोकिनु कतिको उचित होला? बरु परामर्शदाता बन्न हाल ताेकिएको लिनुपर्ने तालिम अवधिको सिमा बढाएर मनोपरापर्शदातको कार्य प्रभावकारी बनाउने राम्रो उपाय हुन सक्थ्यो की?
दुर्व्यसनकाे दुनियाँबाट निक्लिसकेपछि पनि उनीहरुलाई बाहिरी दुनियाँले सहजै स्वीकार्दैनन्। विश्वास नगर्ने, बिगत कोट्याएर त्यही रुपमा नै हेर्ने गरेको कारणले समाजमा स्थापित हुन गाह्रो हुन्छ। तसर्थ समाजलाई दुर्व्यसनमुक्त बनाउन हामी सबैको सजगता, अग्रसरता र योगदानको खाँचो छ।
हामीले यो यथार्थलाई भुल्नु हुँदैन कि हामी भगवान विष्णुको श्रापित रूपलाइ पुजा गर्ने संस्कारमा हुर्केका हौ। आफ्नो सतित्व हरण गर्ने भगवान विष्णुलाई जालन्धर पत्नी बृन्दाले झार, घाँस, कल्पवृक्ष र ढुङ्गा भएर रहन परोस भनि श्राप दिएको कारण विष्णु झार हुनु परोस् भनेकोमा तुलसी, घाँस हुनु परोस् भनेकोमा कुश, कल्पवृक्षको रुपमा पीपल र ढुङ्गा भनेकोमा शालिग्राम भएर रहे। गल्ती गर्ने सबैले सजाय पाउनै पर्छ, भगवानले पनि पाए। तर सजाय भोगिसकेपछि उ प्रतिको श्रद्धा र सम्मानमा कुनै कमी हुँदैन भन्ने ज्वलन्त उदाहरण हो, भगवान विष्णुको पाप मोक्षको सन्दर्भ। अनि पूजा कोठामा मूर्तीसँगै शालिग्राम राख्ने, घरमा तुलसीको मठ बनाएर पूजा गर्ने, प्रत्येक शनिबार पिपलको बोटमा पानी चढाउने, पितृ कार्यमा पवित्र मानेर कुशको प्रयोग गर्ने गर्दै आएका हामी दुर्व्यसनीलाई सुधारपश्चात पनि किन स–प्रेम स्वीकार्न सक्दैनौ ?
Ramro didi hjr ko