कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु

अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन्। अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ। 

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ।

सो प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ। 

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ। एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो। त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ। 

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ। गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो। त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ। के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन। रासस 

प्रकाशित मिति: : 2021-06-22 13:26:00

प्रतिकृया दिनुहोस्